परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान « Arthapath.com
३१ जेष्ठ २०८३, आइतबार

परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान



काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा खनाल चीनको चारदिने भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका हुन् ।

चीन बसाइका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउने विषयमा द्विपक्षीय वार्ता गर्नेछन्। साथै, आपसी आपसी हित र सहकार्यलाई थप सबल बनाउनेबारे पनि दुई देशबीच गहन छलफल हुने मन्त्रालयले जनाएको छ। बेइजिङमा रहँदा उनले चीन सरकारका अन्य उच्च अधिकारीहरूसँग समेत बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले नेपालमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने विशेष लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन्। सो अवसरमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग नेपालमा लगानीका सम्भावना र सहकार्यका क्षेत्रबारे प्रत्यक्ष छलफल समेत गर्नेछन्।

यसैगरी, मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुने र त्यहाँ रहेका नेपाली समुदायसँग समसामयिक विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम छ। चारदिने भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।


प्रतिक्रिया दिनुहोस्