मध्यरातमा ल्याएको सुदूरपश्चिमको बजेट ३७ अर्ब ७० करोडको
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
प्रदेशसभाको असार १ गते राति ११:४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका हुन् ।
आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु एक अर्ब ७२ करोड, सरकारबाट राजस्व बाँडफाट भई प्राप्त हुने अनुमानित रकम रु १० अर्ब २४ करोड ९२ लाख, ६६ हजार अनुमान गरिएको छ ।
यस्तै, सङ्घीय रोयल्टीबापत रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु नौ खर्ब छ करोड ३३ लाख, चालु आवको विनियोजनबाट बचत हुने रु नौ अर्ब ६२ करोड, सशर्त अनुदान रु ६ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदान रु ३८ करोड ३८ लाख र विषेश अनुदानबाट रु ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री धामीले जानकारी दिए ।
बजेट बाँडफाँटमा सत्तापक्षका प्रदेशसभा सदस्यहरुबीच नै मतऐक्यता हुन नसकेपछि प्रदेशसभा बैठकमा आगामी आवको बजेट पेस गर्न ढिलाइ भएको हो । प्रदेश सरकारको चालु आवमा रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरिएको थियो ।












