मन्त्री लम्सालको खुट्टा भाँचिदिने अभिव्यक्तिको संसद्मा स्पष्टीकरण
काठमाडौं । आफ्नो विवादास्पद अभिव्यक्तिका कारण आलोचना खेपिरहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले संसद्मा स्पष्टीकरण दिएका छन् ।
नागढुंगा–मुग्लिन सडक खण्डको निरीक्षणका क्रममा काम नगर्ने ठेकेदारको ’खुट्टा भाँचिदिने’ भनी उनले दिएको बयान सामाजिक सञ्जालमा भाइरल भएपछि उनको तीव्र विरोध भएको थियो । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा जवाफ दिँदै मन्त्री लम्सालले निर्माण व्यवसायीको मनोबल गिराउने आफ्नो कुनै मनसाय नरहेको प्रस्ट पारे ।
सम्झौता रद्द गर्दा व्यवसायीलाई हुने नोक्सानीप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उनले थोरै मात्र सम्भावना भए पनि सुधारको अवसर दिने नीति रहेको बताए । साथै, निर्माण क्षेत्रका नीतिगत अस्पष्टता हटाउन सार्वजनिक खरिद ऐन परिमार्जन गर्न लागिएको समेत उनले जानकारी दिए ।












