विद्युत् प्राधिकरणका कर्मचारीले बिदा नपाउने,अनलाइनबाट विद्युत् महसुल बुझाउन अपिल « Arthapath.com
१० चैत्र २०७६, सोमबार

विद्युत् प्राधिकरणका कर्मचारीले बिदा नपाउने,अनलाइनबाट विद्युत् महसुल बुझाउन अपिल



काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्न ग्राहकहरूलाई अपिल गरेको छ। महसुल काउन्टरहरुमा हुने भिडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो।

इन्टरनेटको सहज आपूर्ति अभावमा ग्राहकले समयमै महसुल भुक्तानी गर्न नसके उक्त अवधिको जरिवाना नलाग्ने र लाइन नकाटिने ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विद्युत् प्राधिकरणका कर्मचारीले बिदा नपाउने बैठकले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बिदा नदिने पनि निर्णय गरेको छ। बिहान र बेलुका अनिवार्य हाजिरीको व्यवस्था गर्न प्राधिकरणका सबै उत्पादन र वितरण केन्द्रका कार्यालय प्रमुखहरुलाई निर्देशन जारी गरिएको छ। सरकारले विद्युतलाई अत्यावश्यक सेवामा राखेकाले कर्मचारीलाई बिदा नदिने निर्णय गरिएको मन्त्री पुनले जानकारी दिए।

यस्तै प्राधिकरणका अतिसंवेदनशील मानिने नो लाइट र भारसम्प्रेषण केन्द्र (एलडिसी) का कर्मचारीलाई संक्रमणको जोखिम कायम रहने अवधिसम्म कार्यालयमा आइसोलेसनमा राखिने भएको छ। ती काममा सीमित कर्मचारी मात्र भएकाले उनीहरुलाई संक्रमण भए सेवा नै अवरुद्ध हुने सम्भावित जोखिमलाइ मध्यनजर गरेर त्यस्तो निर्णय गरिएको मन्त्री पुनले बताए। ‘नो लाइट र एलडिसीमा सीमित प्राविधिकका भरमा काम गर्नुपर्ने अवस्था छ’, मन्त्री पुनले भन्नुभयो, ‘ती कर्मचारी कार्यालय आउजाउ गर्दा संक्रमित व्यक्तिको सम्पर्कमा पुग्न सक्ने भएकाले कार्यालयमै आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ।’


प्रतिक्रिया दिनुहोस्