नेपाल-भारत सीमामा कडाई , ९२५ नाकामा सुरक्षाकर्मी परिचालन « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

नेपाल-भारत सीमामा कडाई , ९२५ नाकामा सुरक्षाकर्मी परिचालन



काठमाडौँ । नेपाल सरकारले भारतसँगको खुला सिमानाका कारण कोरोना भाइरस ९कोभिड–१९० संक्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौसय २५ सीमा नाकामा कडाई गर्न निर्देशन दिएको छ ।

त्यस्तै, ‘लक डाउन’ पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले जनाएको छ । नेपालको भारतसँग एकहजार भन्दा बढी खुला सीमा रहेका छन् । ती मध्ये नौ सय २५ स्थानमा सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मन्त्रालयका एक उच्चअधिकारीका अनुसार, सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ । बोर्डर ९सीमा० विओपी सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी वलको पाँचहजार जनशक्ति फिल्डमा खटिएको छ ।

नेपालको पूर्व–पश्चिम र दक्षिणको गरी २६ जिल्लाहरू भारतसँग जोडिएका छन् । ती मध्ये धेरै जिल्लाहरूमा वारिगाँउ पारिबारी, पारी गाँउ वारीबारि रहेका छन् । तराईका केही जिल्ला र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी र दार्चुलामा चोरबाटो प्रयोग भएको पाइएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले भारतमा रहेका नेपाली लुकिछोपी चोरबाटो प्रयोग गरी आउन थालेपछि थप कडाई गरिएको बताउनुभयो । केही दिनअघि बैतडीमा चोरबाटो प्रयोग गरी आएका एकसय ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, बुधबार चोरबाटो प्रयोग गरी दार्चुलामा प्रवेश गरेका ३३ जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरमा पनि कृष्णपुर नयाँवस्ती र दोधरा चाँदनी लगायतका सीमाबाट अवैध प्रवेश भएपछि २० गतेबाट थप कडाई गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

मन्त्रालयले पनि सीमा नाकामा २४ घण्टा सुरक्षा पहरा दिन संयुक्त सुरक्षा गस्ती, स्थानीय प्रशासनलाई उच्चसुरक्षा सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले दुबै देशका सरकारबीच भएको सहमति अनुसार सीमा कडाई गरिएको स्पष्ट पार्नुभयो ।

‘लक डाउन’ को क्रममा सीमा पारि रोकिएका नेपालीको व्यवस्थापन भारत सरकारले र वारि रोकिएका भारतीय नागरिकको नेपाल सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ । दुई छिमेकी मुलुक चीनको तुलनामा भारतमा फैलिएको कोरोना संक्रमण नेपालका लागि चुनौती बन्दै गएको छ ।

नेपालले आन्तरिक स्वास्थ्य सतर्कता तथा उपचार सेवा विस्तार गरेसंगै नेपाल–भारत सीमा कडाई गर्दा कोरोना भाइरस महामारीको संक्रमणबाट नेपाल सुरक्षित राख्न सक्ने अपेक्षा गरिएको छ ।

सीमा जोडिएका प्रत्येक स्थानीय तहले अबैध प्रवेश र घुसपैठमा प्रतिवन्ध लगाइ सकेका छन् । सीमा नाकामा प्रदेश सरकार, स्थानीय प्रशासन र स्थानीय तहको वडास्तरसम्म सहकार्य गरी सेना, प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गरेको पाइएको छ । तर, कतिपय स्थानमा भने मध्यरातमा हिँडेर वारि आउने र पाहुना लाग्ने गरेको बताइएको छ ।गोरखापत्र अनलाईन


प्रतिक्रिया दिनुहोस्