कोरोना भाइरसको अन्तिम परीक्षण गर्न नमुना काठमाण्डू ल्याउनु नपर्ने « Arthapath.com
७ बैशाख २०७७, आईतवार

कोरोना भाइरसको अन्तिम परीक्षण गर्न नमुना काठमाण्डू ल्याउनु नपर्ने



काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणको सम्पूर्ण परीक्षण र उपचार अब काठमाण्डूबाहिर सम्भव भएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब ‘क्रस भेरिफिकेशन’को काम काठमाण्डूबाहिर धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्जको भेरी अस्पतालमा समेत गरिने बताए।

यसअघि नेपालका १४ ठाउँमा पीसीआर विधिबाट कोभिड-१९ परिक्षण गर्ने गरिएको भए पनि अन्तिम टुङ्गो लगाउन ‘क्रस भेरिफिकेशन’ गर्न भन्दै सङ्क्रमण देखिएका व्यक्ति र अन्य केही नमुना अन्तिम काठमाण्डू पठाइन्थ्यो।

अब १५ वटा प्रयोगशालाबाट नमुनाको जाँच हुन थालेको छ।

२६० ‘शङ्काको घेरामा’
अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ३१ रहेकोमा तीमध्ये चार जना भाइरसमुक्त भएको देवकोटाले बताए।

मन्त्रालयले शनिवार राति एक जनामा सङ्क्रमण भएको पुष्टि गरेपछि कुल सङ्क्रमितको सङ्ख्या ३१ पुगेको थियो। तर त्यसपछि थप सङ्क्रमण भएको पुष्टि भएको छैन।

भाइरसमुक्त भएको पुष्टि भएपछि काठमाण्डू र बागलुङमा उपचार गराइरहेका दुई जनाले शनिवार र धनगढी भर्ना गरिएका एक जनाले घर फर्किन पाएका हुन्।

भाइरसको लक्षण र उनीहरूले हालै गरेको यात्रा विवरणका आधारमा सम्भावित सङ्क्रमित हुनसक्ने भन्दै अहिलेसम्म ‘रेड जोन’मा देशभरि २६० पुगेको बताइएको छ। गत २४ घण्टामा मात्र ‘रेड जोन’मा छ थपिएको देवकोटाले बताए।

त्यसैगरी उदयपुरमा पाइएका सङ्क्रमितसँग संसर्गमा आएका हुन सक्ने भन्दै अहिलेसम्म ६९ जनाको नमुना सङ्कलन गरिएको छ।

देशभरि क्वारन्टीनमा रहेका व्यक्तिको सङ्ख्या क्रमशस् घटिरहेको र अहिले ५,१८० जना क्वारन्टीनमा रहेको देवकोटाले बताए।

नेपालमा अहिलेको अवस्था के छ ?
अहिलेसम्म पीसीआरबाट ८,०८१ र आरडिटीबाट २१,४८६ गरेर कुल २९,५६७ परीक्षण

विगत २४ घण्टामा २,१६८ वटा परीक्षण

द्रुत परीक्षणका लागि आरडीटी किट ७७ वटै जिल्ला उपलब्ध

निको हुन बाँकी सबै २७ जना सबैको स्वास्थ्य सामान्य। तीमध्ये टेकुमा १ जना , पाटनमा २ , बागलुङमा १, धनगढीमा ४, वीरगन्जमा ४ , भरतपुरमा २ र विराटनगरमा १३ जना विभिन्न अस्पतालमा भर्ना

डा. पुनलाई पठाइएको पत्रको बचाउ

टेकु अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले पत्र काटेको विषयमा स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम बिष्टले बचाउ गरेका छन्।

सोही पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रालयले पठाएको पत्रको बेहोरा समेत पढेर सुनाए।

सहसचिव विष्टले ‘अस्पतालको काममा बाधा नपर्नेगरी मन्त्रालयले सञ्चालन गरेको कोभिड-१९ अभियानमा सहयोग पुर्‍याउन भनेर पत्राचार गरिएकोमा तथ्यलाई बङ्ग्याएर समाचार सम्प्रेषण गरिएको भन्दै रोष प्रकट गरे। बीबीसी


प्रतिक्रिया दिनुहोस्