जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने,सतर्क रहन आग्रह « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने,सतर्क रहन आग्रह



काठमाडौं । जुनसुकैबेला पनि लकडाउन जारी गर्न प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) लाई अधिकार दिएको छ । कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेकाले सरकारले यस्तो अधिकार सीडीओलाई दिएको हो ।

सोमबारको बसेको मन्त्रीपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना तथा अर्थ मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार, जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जोखिमको विश्लेषण गरी सम्बन्धित जिल्लाभरि वा जिल्लाको कुनै भागमा मात्रै लागू हुने गरी निषेधाज्ञा जारी गर्न सक्ने अधिकार सीडीओले पाएको हो । त्यसको लागि सरकारले स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रमुख जिल्ला अधिकारीलाई सुम्पने निर्णय गरेको हो ।

यस्तै सङ्क्रामक रोग ऐन २०२० तथा सरकारले जारी गरेका अरु निर्देशनअनुसारका निर्देशिका, आदेश तथा निर्णय अटेर गरेमा कडा कारबाही गर्न पनि सरकारले प्रमुख जिल्ला अधिकारीसहित विभिन्न मन्त्रालय र गृह प्रशासनलाई निर्देशन दिएको छ ।

त्यस्तै सरकारले विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको लागि सरकारले २८ अर्ब बराबर सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ । एसियाली विकास बैंकबाट २०० मिलियन डलर (करिब २४ अर्ब रुपैयाँ) र नर्वे सरकारको तर्फबाट अमेरिकी डलर ३५ मिलियन (चार अर्ब) रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्