थप ८ वटा विद्युतीय सवदाह गृह निर्माण हुने, काठमाडौं महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

थप ८ वटा विद्युतीय सवदाह गृह निर्माण हुने, काठमाडौं महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता



काठमाडौं । काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच विद्युतीय शवदाहगृह निर्माण गर्ने सम्झौता भएको छ । पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो ।

महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी शवदाह गृह निर्माण गर्ने भएको हो । महामारी, प्राकृतिक प्रकोपमा देखापर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै शवदाह गृह निर्माणको सम्झौता गरिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए । अहिले दैनिक ३५ देखि ४५ वटा शवदाह हुने गरेकोमा २० वटा शव विद्युतीय गृहमा दाह गर्ने गरिएको छ । लाइन बसेर शव जलाउनुपर्ने अवस्था र बढ्दो मागलाई मध्यनजर गर्दै थप ८ वटा गृह निर्माण गरिने उनले बताए।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वार्षिक बजेटमार्फत तीन वटा गृह निर्माण गर्ने गरी १५ करोड रुपैयाँ विनियोजन गरेको अवस्थामा कोषले थप गृह निर्माणका लागि आग्रह गरेको बताए। अहिले निर्माण कार्य अगाडि बढेका सबै शवदाह निर्माणको आर्थिक जिम्मेवारी महानगरपालिकाले लिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्