१५ महिनामा ३ वटा बैंक समस्याग्रस्त « Arthapath.com
२ पुष २०७७, बिहीबार

१५ महिनामा ३ वटा बैंक समस्याग्रस्त



काठमाडौं । पछिल्लो १५ महिनामा भारतका प्रमुख तीन बैंकहरू अत्यधिक खराब कर्जाका कारण संकटमा परे । जसले गर्दा अर्थतन्त्रका विज्ञहरूले भारतीय बैंकको वित्तीय स्वास्थ्य अवस्थामाथि प्रश्न उठाउन थालेका छन् । ‘हाम्रो व्यवसायमा सबैभन्दा पहिले कोभिड-१९ ले नराम्रोसँग प्रभावित बनायो, हामीसँग २ महिना त कत्ति पनि आम्दानी भएन । तर अहिले बचत गरेर बैंकमा राखेको पैसा पनि निकाल्न पाएका छैनौं, किनभने हाम्रो पैसा भएको बैंक संकटमा फसेको छ,’ मुम्बईमा सानोतिनो व्यापार गर्ने ५० वर्षे मंगिलाल परिहारलले भने ।

जसले गर्दा कर्मचारीहरूलाई तलब दिन पनि नसक्ने अवस्था आएको उनले बताए । परिहारले केही समयदेखि संकटमा फसेको लक्ष्मी विलास बैंकमा आफ्नो आम्दानी जम्मा गरेका थिए ।भारतीयहरूले २ कारणले बचत गर्न बैंक छनोट गर्छन् । पहिलो बचतमा प्राप्त हुने आकर्षक ब्याजदर र दोस्रो घरबाट नजिकै पायक पर्ने स्थानमा होस् । परिहारले पनि सोहीअनुसार लक्ष्मी विलास बैंकलाई बचत गर्नका लागि छनोट गरेका थिए ।

तर, त्यहाँको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले ९४ वर्ष पुरानो लक्ष्मी विलास बैंकलाई गत साता संकटग्रस्त घोषणा ग¥यो र निक्षेपकर्तालाई मासिक ३३५ अमेरिकी डलरभन्दा बढी निकाल्न नपाइने नियमन लगाइदियो । परिहारकाअनुसार उनको पैसा जोखिममा परेको यो पहिलोपटक होइन । ८ वर्ष अगाडि उनले स्थानीय सहकारी बैंकमा राखेको पैसा पनि संस्था संकटग्रस्त भएपछि जोखिममा परेको थियो । उनको हकमा पछिल्लो १५ महिनामा बचत संकटमा परेको लक्ष्मी विलास बैंक तेस्रो संस्था हो ।

सन् २०१९ सेप्टेम्बरमा पञ्जाब एण्ड महाराष्ट्र कोअपरेटिभ बैंक (पीएमसी) समस्याग्रस्त भएको थियो । उक्त बैंकमाथि अहिले पनि गैरकानूनी रुपमा ६०० मिलियन डलर कर्जा दिएको विषयमा अनुसन्धान भइरहेको छ । त्यसैगरी, गत मार्च महिनामा भारतको पाँचौ ठूलो बैंक भनिएको एस बैंकले पनि अत्यधिक खराब कर्जा भएपछि पुँजी बढाउन नसक्दा संकटग्रस्त घोषणा भएको थियो ।

त्यसपछि रिजर्भ बैंक अफ इन्डियाले एस बैंक र लक्ष्मी विलास बैंकमाथि आफ्नो मातहतमा लिएको थियो । पछि बैंक डीबीएस, सिंगापुरको ठूलो बैंकसँग मर्ज भएपछि पुँजी निकालिएको थियो । तर पीएमसी बैंकको हकमा आरबीआईले राहत प्याकेज दिने पर्खाइमा छन् ।

बैंकमा पैसा जम्मा गरेर निकाल्न नपाउने अर्का व्यक्ति हुन ५३ वर्षे विद्या मेरवाड । बैंक समस्याग्रस्त भएको १४ महिनापछि अहिले समस्यामा परेकी छन् । अरूको घरमा सुसारेको काम गर्ने उनले अहिले बुढी आमासँग पैसा सापट लिएर दैनिकी चलाइरहेको बताइन् । उनका पतिले अटो रिक्सा चलाएर आम्दानी गरेको रकम सबै बचतका रुपमा बैंकमा राखिएको थियो । तर अहिले समस्या पर्दा उक्त पैसा पनि निकाल्न पाएकी छैनन् । तर अब छोरीलाई जर्मनीमा पढ्न पढाउन र छोराको विवाह गर्ने काम पैसा नभएकाले अड्किएको छ ।

यद्यपि, अहिले त्यहाँको केन्द्रीय बैंकले पैसा निकाल्ने सीमा बिस्तारै बढाउँदै लगेको छ । तर, मेरवाडका लागि बढाइएको सीमा बराबरको रकम पनि अझै अपुग छ । तर बैंकहरू किन एकपछि अर्को गर्दै समस्याग्रस्त भइरहेका छन् त ? भारतीय बैंकहरू लामो समयदेखि कर्पोरेट लोनका कारण फसिरहेको अब नौलो कुरा रहेन । यो सार्वजनिकरुपमै आइसकेको छ । उनीहरूले दशौं बिलियन डलर बराबरको गैरकानूनी कर्जा प्रवाह गरेका छन् ।

यसलाई धेरै अर्थशास्त्रीहरू ‘लिगेसी ब्याड डेब्प्ट प्रोब्लम’ भन्छन् । बैंकहरूले व्यवसायहरूमा उदार कर्जा दिनु नै खराब कर्जा बढ्नुको पहिलो कारण भएको उनीहरूको तर्क छ । रिजर्भ बैंक अफ इन्डियाका पूर्वगभर्नर रघुराम राजनले यसको कारण बैंकहरूमा अत्यधिक आशावाद र तर्कहीन उत्साह भएको बताउँछन् । ‘बैंकहरू समस्याग्रस्त हुनुलाई वर्तमान आर्थिक अवस्थासँग दाँजेर हेर्न‘पर्छ, भारतीय अर्थतन्त्र कोरोनाका कारण अहिले कमजोर बन्दै गएको छ । जसले गर्दा बैंकहरूको खराब कर्जा अत्यधिक पुगेको छ,’ स्टेट बैंक अफ इन्डियाका पूर्व चिफ इकोनोमिस्ट ब्रिन्दा जागिरदारले भनिन् ।

‘खराब कर्जा बढ्नुको अर्को कारण खराब कर्पोरेट गभर्नेन्स पनि हो, खराब व्यवस्थापन र बैंकभित्रको पारदर्शिता नहुनु पनि हो । यसलाई समाधान गर्नका लागि सबै तह र तप्कामा उच्च जवाफदेहिता हुनुपर्छ,’ जागिरदारले भनिन् । जलाजा मेहता, एक बिजनेस एक्जुकेटिभले आफूले अब बैंकमा कममात्रै रकम राख्ने र ठूलो मात्रामा रकम घरमै राख्ने योजना बनाएको बताए । एस बैंक र पीएमसी बैंक समस्याग्रस्त भइसकेपछि पैसाको सुरक्षा अब घरमै बढी हुने उनको तर्क छ ।

पूर्णरुपमा डुब्यो जनता बैंक
भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबार महाराष्ट्रको कराडस्थित जनता कोअपरेटिब बैंकको लाइसेन्स रद्द गरिदिएको छ । आरबीआईले सहकारी बैंकसँग कारोबारको सञ्चालनका लागि आवश्यक पूँजी नभएको भन्दै लाइसेन्स रद्द गरिदिएको जनाएको छ । आरबीआईकाअनुसार, उक्त बैंकसँग आम्दानीको पनि कुनै सम्भावना थिएन ।

लाइसेन्स रद्द हुनुको मतलब अब उक्त सहकारी बैंक बन्द हुनेछ । यद्यपि, आरबीआईले भनेको छ कि, ९९ प्रतिशत निक्षेपकर्ताहरूलाई उनीहरूको सम्पूर्ण जम्मा पुँजी प्राप्त हुनेछ ।निक्षेपकर्ताहरूलाई उक्त रकम डिपोजिट इन्स्योरेन्स एण्ड क्रेडिट ग्यारेन्टी कर्पाेरेशन (डीआईसीजीसी) बाट प्राप्त हुनेछ ।

७ डिसेम्बरमा कार्य समाप्त भएपछि सहकारी बैकका लाइसेन्स रद्द गरिएका हो । सहकारी बैकले तत्काल बैंकिङ कामकाज गर्न सक्ने छैन, जसमा डिपोजिट स्वीकार गर्न‘ र डिपोजिट भुक्तान गर्न‘ पनि शामिल रहेको छ । लाइसेन्स रद्द भएपछि र तरलताको प्रक्रिया सुरु भएसँगै सहकारी बैंकको निक्षेपकर्ताहरूलाई पैसा फिर्ता गर्ने प्रक्रिया सुरु हुनेछ ।

भारतीय सेयर बजार ऐतिहासिक उचाईमा
बुधबार भारतीय सेयर बजारमा चौतर्फी खरीद दर उच्च देखिएको छ । योसँगै बीएसई सेन्सेक्स ३३६.३१ अंकले बढेर ४५ हजार ९४४.८२ को बिन्दुमा पुगेको छ भने निफ्टी ९९.१५ अंकको बढोत्तरीका साथ १३ हजार ४९२.१० को बिन्दुमा कारोबार गरिरहेको छ ।

यद्यपि, कारोबारका क्रममा सेन्सेक्सले ४५ हजार ९६५.०३ र निफ्टीले १३ हजार ४९४.८५ को स्तर छोएको थियो । यो दुवै इन्डेक्सको हालसम्मकै उच्च बिन्दु हो ।

विश्व बजारमा देखिएको शानदार बढोत्तरीको असर भारतीय सेयर बजारमा पनि देखिएको बताइएको छ । बुधबार एशियाली सेयर बजारले पनि उच्च स्तरमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार अमेरिकी बजारमा नास्डाक सूचकले पनि नयाँ रेकर्ड बनाएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्