पीबीएस आइटी करियर कन्क्लेभ सम्पन्न « Arthapath.com
२७ पुष २०७७, सोमबार

पीबीएस आइटी करियर कन्क्लेभ सम्पन्न



काठमाडौं । ‘आर यु फ्युचर रेडी’ स्लोगन सहित प्रेसिडेन्सियल बिजनेस स्कूलमा आयोजित दुईदिने आइटी करियर कन्क्लेभ सम्पन्न भएको छ ।

प्रेसिडेन्सियल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा पुस २५ र २६ गते आयोजना भएको कार्यक्रममा विभिन्न ५ सेसनमा २५ भन्दा बढी वक्ताहरूको सहभागिता रहेको थियो ।
आइटीमा भविष्य खोज्नेहरूलाई लक्षित गरेर आयोजना गरिएको यो आइटी करियर कन्क्लेभमा वक्ताहरूले अबको भविष्य प्रविधिसँगै जोडिएको हुँदा सोही अनुकूल सरकार र सर्वसाधारण पनि प्रविधमैत्री वातावरणमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका थिए । अहिलेको इमर्जिङ प्रविधिहरूबारे छलफल गर्दै सुरु भएको कन्क्लेभ अबको १० वर्षभित्र नेपालमा आइटीको विकास कस्तो हुन सक्छ भन्ने विषयमा गएर टुंगिएको थियो ।

कार्यक्रमको अन्तिम सेसनमा बोल्दै पूर्वमन्त्री गणेश शाहले स्टार्टअप, इन्नोभेसन र उद्यमशीलतामा अबको भविष्य खोज्नुपर्ने बताए । यसैगरी आइटी विज्ञ मनोहर भट्टराईले सरकार पोलिसी निर्माणमा अघि रहे पनि कार्यान्वयन पक्ष फितलो हुँदा यो क्षेत्रमा अपेक्षाकृत प्रगति हुन नसकेको बताए । उनले अझै पनि युवाका समस्याहरू नबुभ्mने र नेपाली इन्नोभेसनलाई सहजीकरण नगर्ने हो भने १० वर्षमा ठूलो परिवर्तन देख्न नसकिने बताए । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले अबको १० वर्षमा ई–गभर्नेन्सको क्षेत्रमा बदलाव आउने बताए ।

प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले विगत केही वर्षदेखि सरकारले आइटीलाई प्राथमिकतामा राखेर काम गरिरहेको हुँदा परिवर्तन सम्भव रहेको बताए । नागरिक अधिकार एपले चाँडै मूर्तरूप लिने भन्दै उनले अब डिजिटल प्रविधिले अन्य क्षेत्रलाई ड्राइभ गर्नुपर्नेमा जोड दिए । मेडसफ्टकी सीईओ प्रनिता उपाध्यायको अनुसार अबका दश वर्षमा घरबाटै काम गर्ने रणनीतिले प्रोत्साहन पाउनेछ । त्यसैगरी भौतिक पूर्वाधार र साइबर सुरक्षामा पनि एकदमै बदलाव आउने उनले बताएकी थिइन् । कार्यक्रममा कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले आफ्नो अनुभवहरू बाँडेका थिए । नलेज स्पेसियलिस्ट हेमपाल श्रेष्ठले सञ्चालन गरेको उक्त सेसनमा डिजिटल नेपाल र यसका एजेन्डाको विषयमा पनि छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस्