निरक्षर व्यक्ति देशको प्रधानमन्त्री, राष्ट्रपति हुन पाउने तर डिम्याट खाताको मेरोसेयर सुविधा भने नपाउने « Arthapath.com
१२ माघ २०७७, सोमबार

निरक्षर व्यक्ति देशको प्रधानमन्त्री, राष्ट्रपति हुन पाउने तर डिम्याट खाताको मेरोसेयर सुविधा भने नपाउने



काठमाडौं । कम्पनीको सेयरधनी बन्न कुनै शैक्षिक योग्यता तथा साक्षरताको आवश्यक पर्दैन । तर, सीडीएससीले तयार पारेको मेरोसेयरको अनलाइन एप्लिकेसन खोल्न भने हस्ताक्षर अनिवार्य गरेको छ । जसकारण निरक्षर व्यक्तिलाई सो सिस्टमले भेदभाव गरेको छ । निरक्षर व्यक्ति देशको प्रधानमन्त्री राष्ट्रपतिसमेत हुन पाउने कानूनी व्यवस्था छ । उसले बैंक खातादेखि कम्पनी नै खोल्नसमेत पाउँछ, तर डिम्याट खाताको मेरोसेयर सुविधा भने पाउन सक्दैन ।

डिम्याट खाता हुने लगानीकर्ताले मेरो सेयरको खाता खोल्न खोज्यो भने उसले अनिवार्य आफ्नो हस्ताक्षर पेश गर्नुपर्छ । जबकि उसले डिम्याट खाता खोल्दा औँठा छापमार्फत् हस्ताक्षर गर्न सक्छ । पछिल्लो समय सेयर बजारलाई पूर्णरुपमा अनलाइन बनाउने अभियान चलिरहेको छ । तर सिडिएससीको यस्तो व्यवस्थाले गर्दा निरक्षर लगानीकर्ताहरू बैंक तथा वित्तीय संस्थामा भौतिकरुपमा उपस्थित हुनु परिरहेको छ ।

अनलाइन प्रयोग गर्न नसक्नेले मेरो सेयरको एप्लिकेसन पनि प्रयोग गर्न नजान्ने भएकाले आँैठा छाप प्रयोग गर्नेलाई मेरो सेयर एप्लिकेसन सञ्चालनको अनुमति नदिएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए । उनले भने,‘मेरोसेयरको एप्लिकेसन सञ्चालन गर्न कम्तीमा पनि साक्षर हुनुपर्छ । हस्ताक्षर पनि गर्न नसक्नेले कसरी मेरोसेयरको एप्लिकेसन सञ्चालन गर्न सक्छ ?’

न्यौपानेले भनेजस्तै हस्ताक्षर पनि गर्न नसक्ने लगानीकर्ताले अनलाइन प्रयोग गर्न नसक्ला तर उसका छोराछोरी, श्रीमान्, श्रीमती, बुबा, आमाले पनि त प्रयोग गर्न सक्छन् । यसरी हस्ताक्षरको बहानामा लगानी गर्न नै वञ्चित गरिनु न्यायसंगत नभएको विश्लेषकहरू बताउँछन् । यदि हस्ताक्षर नै गर्न सक्दैन भने उसको अनलाइन सञ्चालन गर्ने व्यक्तिको नाम उल्लेख गरेर अनुमति दिने विषयमा भने सोच्न सकिने न्यौपाने बताउँछन् । मेरोसेयरबाट आवेदन दिन नसकिए पनि आश्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट भने सेयरमा आवेदन दिन सकिने उनले बताए ।

एउटा निरक्षर व्यक्तिले अनलाइन सञ्चालन गर्न नसक्ने परिकल्पनाले गर्दा यस्तो अवस्था आएको हो । तर, सरकारी निकायले निरक्षर व्यक्तिको साथमा साक्षर व्यक्ति पनि हुन्छन् भन्ने परिकल्पना गर्न नसक्दा यस्तो अवस्था आएको हो ।

सरकारले साक्षरताको अभियान चलाएर सबै नेपालीलाई साक्षर बनाएको घोषणा गरेता पनि अझै लाखौँ नेपालीहरूले हस्ताक्षर पनि गर्न जान्दैनन् । प्रणाली बनाउँदा एउटा अवधारणालाई टेकेर बनाइन्छ । तर, त्यसले व्यवहारिक रुपमा कतिको सहज असहज अवस्था निम्त्याउछ भन्ने कुरालाई भने ख्याल गरिँदैन त्यसैले गर्दा यस्ता विषयमा थप छलफल गर्नुपर्ने देखिएको न्यौपानेले बताए ।

पछिल्लो समय प्राथमिक सेयरमा आवेदन दिन लगानीकर्ता बढिरहेका छन् । साधारण लेखपढ गर्न नसक्नेले पनि सेयर बजारको बारेमा बुझिरहेका हुन्छन् । उनीहरूले प्राथमिक सेयरमा विशेष चासो राखिरहेका हुन्छन् ।

अनलाइन नहुँदा घन्टौँ लाइन बसेर आईपीओमा आवेदन दिने उनीहरू मेरोसेयरको एप्लिकेसन चलाउनबाट भने बञ्चित भैरहेका छन् । साक्षर छोराछोरीले आफ्नो निरक्षर आमाबुबाको नाममा अनलाइन माध्यमको एप्लिकसेन खोल्नसमेत वञ्चित भएका छन् ।

यसकासाथै अनलाइनमार्फत लगानी गर्ने लगानीकर्तासमेत बढिरहेका छन् । डिम्याट खाताको संख्या २३ लाख नाघिसकेको छ । सेयर खरिद–बिक्रीका लागि डिम्याट खातालाई अनिवार्य गरिएको छ । मेरोसेयरको एप्लिकेसन प्रयोग गर्ने लगानिकर्ताको संख्या १२ लाखभन्दा धेरै छ । मेरोसेयरमार्फत लगानीकर्ताले सजिलै आईपीओका लागि आवेदन दिन सक्छन् ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्