प्रभु बैंकको नाफामा ३९.८७ प्रतिशत छलाङ, निक्षेप संकलन १ खर्ब ६२ अर्ब रुपैयाँ « Arthapath.com
१४ माघ २०७७, बुधबार

प्रभु बैंकको नाफामा ३९.८७ प्रतिशत छलाङ, निक्षेप संकलन १ खर्ब ६२ अर्ब रुपैयाँ



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८७ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको हो । त्यस्तै, यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९८ लाख रुपैयाँ पुगेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ र सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड रुपैयाँ, जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड हुँदा जगेडा कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २१ करोड रुपैयाँ सञ्चित थियो ।

यस अवधिमा बैंकको निक्षेप २५.८५ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ र कर्जा २६.८२ प्रतिशत बढेर १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५ पैसाबाट बढेर २६ रुपैयाँ ७७ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १५.३२ गुणा मात्र रहेको छ ।


प्रतिक्रिया दिनुहोस्