‘गरिखाने अभियान’ को रोड शो शुरु अभियान राष्ट्रलाई सुखी र समृद्ध बनाउने इमानदार प्रयास हो : विनोद चौधरी « Arthapath.com
२३ माघ २०७७, शुक्रबार

‘गरिखाने अभियान’ को रोड शो शुरु अभियान राष्ट्रलाई सुखी र समृद्ध बनाउने इमानदार प्रयास हो : विनोद चौधरी



काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको ‘लगानी, पूर्वाधार र रोजगार ः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ ले गरिखाने अभियानको रोड शो शुरु गरेको छ ।
यो अभियान सीप विकास, स्थानीय सम्भावना पहिचान, उद्यमशीलता प्रवद्र्धन तथा विकासका साथै मुलुकमै रोजगारीको अभियान सिर्जनाको महाअभियान हो ।


राजनीतिक जनपरिचालनका माध्यमबाट मुलुकमा आम मानिसहरूलाई आत्मनिर्भर र स्वाबलम्बी बनाउने अर्थात् आर्थिक सशक्तिकरणमा केन्द्रित हुनुपर्छ भन्ने हाम्रो मान्यता अनुरुप यो अभियान शुरु भएको छ । राजनीतिक जनपरिचालनको जगबाट मुलुकमा ठूला–ठूला राजनीतिक उपलब्धि भएका छन् भने प्राप्त उपलब्धिको संरक्षण र जनताले प्राप्त गरेको अधिकार उपभोगका लागि उनीहरूलाई आर्थिक रूपले सशक्तिकरण गर्नुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको रही आएको छ ।

सीप विकास, लगानी, उत्पादन र रोजगारी प्रवद्र्धन गर्ने यो महाअभियान विशुद्ध मुलुकको आवश्यकता, आम मानिसहरूको चाहनाको उपज हो । यो महाअभियानमा मुलुकभरबाट जो कोही जोडिन सक्छन् । यसका लागि हाम्रा प्रादेशिक समन्वय केन्द्रहरू स्थापना भएका छन् । गरिखाने बन्न चाहानेहरूलाई उद्यमशीलता विकास, स्तरोन्नति, सीप विकास, बजार विकास तथा रोजगारी खोज्ने कार्यका लागि हामीले विभिन्न व्यावसायिक संस्थाहरूसँग सहकार्य गरेका छौं । यस अभियानमा आवेदन गर्नुभएका सबैलाई ‘कर्मभूमि समाज’ नामक यस अभियानको साझेदार गैर–सरकारी संस्थाले सेवा प्रदान गर्नेछ ।

‘कर्मभूमि समाज’ वित्तीय स्रोत उपलब्ध गराउने संस्था होइन, तर यसले उद्यमी बन्न चाहानेलाई प्रशिक्षण, स्थानीय सम्भावनाको पहिचान, व्यावसायिक योजना निर्माण, वित्तीय उपलब्धताका उपायहरू, बजार पहुँच, उद्यम÷व्यवसायमा सम्भावित जोखिमहरूको विश्लेषण सेवा उपलब्ध गराई उद्यमीलाई शुरुदेखि अन्तिमसम्मका सबै प्रकारका सेवाहरू उपलब्ध गराउनेछ । अभियानको प्रमुख साझेदार कर्मभूमि समाजका समन्वय केन्द्रहरू सातै प्रदेशमा स्थापना भैसकेका छन् ।

यस अभियानको रोड शो कार्यक्रम माघ १४ गते आर्थिक केन्द्र वीरगञ्जबाट शुरु भई माघ १५ मा हेटौंडा, १६ मा मुग्लिन र १७ गते पोखरामा सम्पन्न भयो । अब छिट्टै नै सुर्खेत, कैलाली, मेची र बुटवलमा लगायत देशका अन्य भागमा पनि यस अभियानको रोड शो आयोजना हुँदैछ ।

वीरगञ्जमा भएको कार्यक्रममा नेपाली कांग्रेस तथा भ्रातृ संस्थाका नेताहरू, वीरगन्ज उद्योग वाणिज्य संघ, प्राज्ञिक व्यक्तिहरूको उपस्थिति थियो । वीरगञ्जमा स्टार्टअप्स सुरु गर्न चाहाने युवायुवतीहरूसँग गरिखाने अभियानको बारेमा छलफल भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले उद्यमशीलता धेरै पक्षहरूको संयोजनबाट मात्र सफल हुने भन्दै यस अभियानको निरन्तरता र सफलताको कामना गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउदले गरिखाने अभियानमार्फत् कांग्रेसले लगानी, पूर्वाधार, उद्यमशीलता र रोजगारीको विकासमा जोड दिएको भन्दै आर्थिक–सामाजिक सशक्तीकरणमा यो अभियान कोशेढुंगा हुने उल्लेख गर्नुभयो । वीरगन्जका उद्यमी, व्यवसायीहरूले लगानीमैत्री वातावरण निर्माण भएमात्र उद्यमशीलता विकास र विस्तार हुने भन्दै समग्र वातावरण निर्माणमा पनि ध्यान दिन आग्रह गर्नुभएको थियो ।

हेटौंडामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिना उपाध्यायले राजनीतिक आन्दोलनको उद्देश्य जनताको जीवनस्तर सुधार, गुणस्तरीय सेवा र पूर्वाधार विकास नै भएकाले अभियानले सबैलाई जागृत गर्दै विकास र समृद्धिका लक्ष्य हासिल गर्न सहयोगी हुने उल्लेख गर्नुभयो । हेटौंडामा भएको कार्यक्रममा उपाध्यायसहित समितिका संयोजक विनोद चौधरी, सहसंयोजक बागमती प्रदेशका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ र अर्का सहसंयोजक उमेश श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । हेटौंटा ३३५ जना सहभागीहरूको उपस्थिति थियो ।

त्यसलगत्तै माघ १६ मा चितवन जिल्लाको इच्छाकामना गाउँपालिका चुम्लिङटारमा भएको कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले गाउँपालिकाको राजमार्ग क्षेत्रमा पर्ने ३६ किमी बाहेक सबै क्षेत्र दुर्गम रहेको भन्दै पूर्वाधार विकास देखि मानिसहरूलाई उद्यमशीलतामा आकर्षित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको उल्लेख गर्नुभयो । आर्थिक विकासलाई गति दिन पूर्वाधारका अतिरिक्त गाउँपालिकाले दूध उत्पादन गर्नेलाई, सुन्तला, कागती खेती, तुलनात्मक रुपमा प्रतिस्पर्धी लाभका एभोकाडोदेखि ग्रीनएप्पलको खेतीका लागि विरुवामा अनुदान दिने व्यवस्था, गाउँपालिकालाई सुन्तलाको पकेट क्षेत्र घोषणा गर्नुका साथै फलफूल तरकारी संकलनका लागि फिस्लिङमा संकलन केन्द्र स्थापना गरेको बताउनुभयो । उहाँले गरिखाने अभियानले उद्यमशीलता विकासका लागि आवश्यक सेवाहरू प्रदान गर्न लागेकोले आफू उत्साहीत भएको भन्दै गाउँपालिकाले यसमा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गरिखाने अभियानले चितवनमा माछा, केरा, कागतीको उत्पादनका लागि सफल उद्यमीहरूमार्फत् यस व्यवसाय गर्न चाहानेलाई सीप, ज्ञान (टेक्निकल नो हाउ) तथा अन्य सेवाहरू कर्मभूमि समाजमार्फत् प्रदान गर्ने भएको छ । उक्त कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. गोविन्दराज पोखरेलले उद्यमशीलता र लगानीलाई प्रोत्साहन गर्नेभन्दा पनि हाम्रो राजनीतिले उद्यम गर्नेलाई दुःख दिने र राम्रो नजरले नहेर्ने गलत ‘ओरिएन्टेशन’ विकास गरेको भन्दै गरिखाने अभियानले उद्यम गर्ने व्यक्तिलाई भगवान झैं सम्मान गर्नुपर्छ भन्ने मान्यता विकास गराउने र उद्यमशीलता प्रवद्र्धन गर्ने बताउनुभयो ।

माघ १७ गते पोखरामा भएको कार्यक्रममा पोखराका युवाहरूले नयाँ व्यावसायिक सोचलाई प्रोत्साहीत गर्न गरिखाने अभियान शुरु भएकोमा खुसी व्यक्त गर्दै यसले आम मानिसमा केही गर्नुपर्छ भन्ने जागरण ल्याउने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका गण्डकी प्रदेश सांसद बिन्दु थापाले यो अभियान सकारात्मक सोच राख्ने र आशावादीहरूलाई भविष्य देखाउने चर्चा गर्नुभयो । पोखराका उद्यमी किरण केसीले उद्यमशील समाज विकास हुँदै गएको खण्डमा आर्थिक–सामाजिक रूपान्तरणले तीव्रता पाउने भन्दै आफू यस अभियानमा संलग्न भएर युवाहरूलाई उत्प्रेरित गर्ने बताउनुभयो ।

उद्यमशीलता र कार्यक्रमका बारेमा कर्मभूमि समाजका प्रमुख कार्यकारी अधिकृत राजु नेपालले सबै स्थानमा प्रशिक्षण गर्नुभएको थियो । प्रशिक्षणपछि कर्मभूमि समाजको सम्पर्कमा आएका उद्यम गर्न चाहानेहरूलाई आवश्यक सबै प्रकारका सेवाहरू यस संस्थाबाट प्रदान हुनेछ । साथै उनीहरूलाई अन्य उद्यमीहरू बनाउन उत्प्रेरित समेत गरिने प्रमुख कार्यकारी अधिकृत नेपालले बताउनुभयो ।

रोड शो कार्यक्रमलाई सम्बोधन गर्दै लगानी, पूर्वाधार र रोजगार समितिका संयोजक विनोद चौधरीले राजनीतिबाट औसत मानिसहरूले विकास र समृद्धिको अपेक्षा राख्ने गरेकोमा नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो र जिम्मेवार दल भएकाले सरकारमा रहँदा पनि र नरहँदा पनि जनताकै बीच रहेर देश र समाजको लागि काम गर्ने बताउनुभयो ।
‘आज लाखौंलाख युवाहरू विश्वमा भएका परिवर्तन र विकाससँग साक्षात्कार गरिरहेका छन् । इन्टरनेटको विकासले उनीहरूको ज्ञान, सीप र आकांक्षाहरूको दायरा फराकिलो भएको छ,’ चौधरीले भन्नुभयो, ‘हामीले उनीहरूको भावनालाई कदर गर्नुपर्छ । राष्ट्रलाई सुखी र समृद्ध तुल्याउने इमानदार प्रयासले हामीले यो अभियान शुरु गरेका हौं ।’

देशमा सुशासन, जनसहभागितामूलक विकास, गुणस्तरीय र प्रभावकारी सेवाको आपूर्ति, प्रत्येक जनतामा कानूनी शासनको प्रत्याभूति, हरेकको आर्थिक सबलताले मात्र देशको मुहार फेरिने उहाँको भनाइ थियो । ‘यही आकांक्षामा सिंगो मुलुक सात दशकदेखि संघर्षरत छ । जनताले राजनीतिबाट इमानदार प्रयास खोजिरहेका छन्,’ चौधरीले भन्नुभयो ।


समितिका सहसंयोजक एवं बागमती प्रदेशका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले नेपाली कांग्रेसले जनतालाई रचनात्मक र व्यवहारिक बनाउने कार्यलाई प्राथमिकता दिदैं आएको बताउनुभयो । उहाँले यस अभियानमा नवीन सोच, स्टार्टअप्स र रोजगारीको खोजीमा रहेकाहरूलाई सहयोग गर्ने उल्लेख गर्दै नेपाली कांग्रेसले युवाहरूलाई राजनीतिक उद्देश्यप्राप्तिका आन्दोलनमा ढुंगा हान्न मात्र नभएर गरिखाने बन्न सिकाउने यो अभियान भएकाले यसमा जो कोहीले पनि यो अभियानमा जोडिन सक्ने उल्लेख गर्नुभयो । ‘म आफैं पनि राजनीतिक आस्था र समाज सेवाका लागि राजनीतिमा लागें । व्यवहार चलाउन व्यवसाय गरें,’ उहाँले भन्नुभयो, ‘हाम्रो राजनीतिमा अझै पनि आफ्नो पौरखले व्यवसाय गरेर राज्यलाई कर तिर्ने, रोजगारी सिर्जना गर्नेलाई राम्रो दृष्टिकोणले हेरिदैंन । त्यो मानसिकतालाई पनि परिवर्तन गर्नुपर्नेछ र राजनीतिलाई नै पेशा बनाउने चलन तोड्नुपर्नेछ ।’

गरिखाने अभियानले राष्ट्रिय जागरण र गरिखाने वर्गमा उत्साह साथै गरिखाने वर्ग निर्माणका लागि क्रियाशील निजी क्षेत्र, सीप विकास कार्यमा संलग्न, व्यावसायिक शिक्षा प्रदान गर्नेहरू, स्टार्टअप्स, उद्यम गर्न चाहाने र उद्यमको स्तरोन्नति गर्ने सबैलाई प्रोत्साहीत गर्ने समितिका सहसंयोजक उमेश श्रेष्ठको भनाइ छ । ‘हामी उद्यमीहरू आफ्नो ज्ञान, सीप र अनुभव बाँडेर उद्यमशील हुन सहयोग गर्दैछौं,’ श्रेष्ठले भन्नुभयो, ‘यस्तै सोच राख्ने देशभरका उद्यमीहरू र उद्यमशीलता विकासका काममा सक्रिय सबैको सहयोगले यो अभियानले साँच्चिकै रूपान्तरण ल्याउन सफल हुनेछ ।’
उद्यमशील बन्न चाहाना राखेर आवेदन दिएका सबैलाई कर्मभूमि समाजले आवश्यक सेवा प्रदान गर्न शुरु गरिसकेको छ । यस अभियानमा महिलाहरू र युवाको ठूलो आकर्षण देखिएको छ । समितिका सदस्य अनिल रूंगटाले गरिखाने अभियान समाजको सेवा गर्ने अभिप्रायले अघि बढाइएको भन्दै यो जबर्दस्त राष्ट्रिय अभियानका रूपमा अघि बढेको बताउनुभयो ।
गरिखाने अभियान दीगो र राष्ट्रव्यापी हुने भएकाले जो कोहीले पनि यस अभियानमा सहभागी हुनसक्ने अभियन्ताहरूले उद्घोष गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्