सुनचाँदी व्यवसायमा ‘क्युआर कोड’बाट कारोबार गर्न गभर्नर अधिकारीको आग्रह « Arthapath.com
२९ माघ २०७७, बिहीबार

सुनचाँदी व्यवसायमा ‘क्युआर कोड’बाट कारोबार गर्न गभर्नर अधिकारीको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुनचाँदी व्यवसायमा हुने भुक्तानी प्रणालीलाई तत्काल डिजिटल प्रणालीमा लैजान आग्रह गरेका छन् ।

सुनचाँदीमा ठुल्ठूला कारोबार भएपछि अझैसम्म यो कारोबार परम्परागत भएको भन्दै गभर्नर अधिकारीले व्यबसायीलाई प्रविधिअनुरूप डिजिटल कारोबारमा जान आग्रह गरेका हुन् । गभर्नर अधिकारीले भुक्तानीमा डिजिटल प्रणाली ‘क्यूआर कोड’ लागू गर्न अनुरोध गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा गभर्नर अधिकारीले सुनचाँदी व्यबसायलाई प्रविधिधमैत्री बनाउन जोड दिए । उनले पर्याप्त मात्रामा स्वदेशी कालिगढ उत्पादन गर्न तथा विदेशी कालिगढलाई विस्थापित गर्न समेत सुझाव दिएका छन् । स्वदेशी कालिगढ उत्पादनका लागि आवश्यक पर्ने सीप विकास तालिमका लागि राष्ट्र बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाली कालीगढलाई प्रोत्साहित गर्न आग्रह गरे । हाल सुनचाँदी क्षेत्रमा झन्डै ७० हजार विदेशी कालिगढ रहेको अनुमान गरिएको छ । गभर्नर अधिकारीले सुनको आपूर्ति विदेशी मुद्राको सञ्चितिसँग सम्बन्धित रहेको उल्लेख गर्दै बजारको मागअनुरूप त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंक सकारात्मक रहेको बताए ।

उनले तोकिएका नाकाबाट पनि सरल र सहजरूपमा सुन वितरणको व्यवस्था मिलाउन १५ दिनअगावै सिफारिसबिना नै सुन बिक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रण गर्न, आपूर्तिमा लागू हुँदै आएको कोटाको सीमा पुनरावलोकन गर्न र व्यवसायीले उठाएका अन्य जायज मागको सम्बोधन गर्न राष्ट्र बैंक तयार रहेको बताए । गभर्नर अधिकारीसँगको भेटका क्रममा सुनचाँदी व्यवसायीले आफ्ना विभिन्न समस्याहरु अघि सारेका थिए ।


प्रतिक्रिया दिनुहोस्