नविल बैंक गाउँभरिको उत्कृष्ठ दुलाहा बोकेर सबैले छोरी वा दुलही दिन लागेको जस्तो होइनः सीइओ शाह « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

नविल बैंक गाउँभरिको उत्कृष्ठ दुलाहा बोकेर सबैले छोरी वा दुलही दिन लागेको जस्तो होइनः सीइओ शाह



काठमाडौं । नविल बैंक गाउँभरिको उत्कृष्ठ दुलाहा बोकेर सबैले छोरी वा दुलही दिनलागेको जस्तो नभएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिलकेशरी शाहले बताएका छन् । पछिल्लो समय नविल बैंकसँग मर्जरको हल्ला चलाएर सेयर मूल्य बढाएपछि यस्तो बताएका हुन् । बाणिज्य बैंकहरुमा अव्वल बैंकका रुपमा रहेको नविल बैंकसँग मर्जरको हल्ला चलाएर सेयर बजारमा बेला बेलामा मूल्य बढाईरहेका छन् ।

नविल बैंकले मर्जरका लागि उपयुक्त संस्थासँग छलफल गरिरहेको छ । सीइओ शाहले भने, “अहिले एउटा पार्टनर मात्रै होइन । नविल चाहि गाउँभरिको उत्कृष्ठ दुलाहा बोकेर सबैले छोरी वा दुलही दिनलागेको जस्तो होइन । कहिले कसैको नाम आउछ कहिले कसैको नाम आउछ ।” नविल बैंकले मर्जरका लागि समिति नै गठन गरेको छ । नविल बैंकले मर्जरमा आउने संस्थाको सबै सूचकलाई ध्यानमा राखेर मर्ज गर्ने सीइओ शाह बताउँछन् ।

उनका अनुसार, हामीले पनि हाम्रो राइट सेयरको हामीसँग मर्ज भयो भने हाम्रो विजनेश साईज कस्तो हुन्छ ? हामीले हेर्ने भनेको उहाँहरुको कस्टमर र हाम्रो कस्टमर उहि होकी फरक हो ? हाम्रो ब्रान्च र उहाँहरुको ब्रान्छ उहि ठाउँमा छकि फरक ठाउँमा छ ? हाम्रो वीकनेस के हो र उहाँहरुको वीकनेस के हो ? उहाँहरुको स्ट्रेन्थ र हाम्रो स्ट्रेन्थ के हो ? लगायतमा एनालाइसीस गरेर हामीले थुप्रै बैंकको बोर्डलाई दिएका छौँ । क र ख बर्गको पनि पुरा विवरण दिएको छ । उहाँहरुले यो हेर्दै हुनुहुन्छ ।

नविल बैंकले छोटो फाइदाका लागि मर्ज नगर्ने जनाएको छ । सीइओ शाहले भने, “ज्वाइण्टभेञ्चर पार्टनर र हाम्रो बोर्डको सर्ट टाइमको लागि हामी मर्ज हुँदैनौ । यसको स्वाप रेसियो राम्रो छ र मर्ज गरिहालौ भनेर मर्ज गर्ने होइन । सर्ट टम फाईदा आउछ भनेपनि मर्ज गरिदैन । मर्ज गरियो भने लङ टाईममा नविल बैंकलाई के फाइदा हुन्छ ? अहिले मात्रै होइन पाँच वर्षमा के फाइदा हुन्छ ? १५ वर्षमा नविललाई के फाइदा हुन्छ ? यो हेरेर मात्रै मर्ज गर्छाै ।”

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु मर्जर हुने संख्या बढ्दै गएको छ । बाणिज्य बैंकहरु पनि बिग मर्जरका लागि छलफलमा जटेका छन् । आफ्नो बैंकसँग कुन बैंकलाई मर्जरमा ल्याउँदा उपयुक्त हुन्छ भनेर सबै सूचकहरुको विश्लेषण गरिरहेका छन् । केहि बैंकहरुले मर्जर समिति नै गठन गरेका छन् ।

पछिल्लो समय नम्वर एक बैंक बन्ने प्रतिस्पर्धाले पनि बिग मर्जरका लागि विभिन्न बैंकहरु आन्तरिक छलफलमा जुटेका छन् ।


प्रतिक्रिया दिनुहोस्