साढे आठ अर्ब रुपैयाँको आईपीओ आउँदै « Arthapath.com
२० असार २०८२, शुक्रबार

साढे आठ अर्ब रुपैयाँको आईपीओ आउँदै



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।

कोषमा नेपाल सरकारको तर्फबाट पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताए । कम्पनी अघि बढाउन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रकृया रहेको बताउँदै छिट्टै दर्ता भई काम सुरु हुने बताए । पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । विदेशमा रहेका नेपालीका लागि साढे आठ अर्ब रुपैयाँको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने योजना छ ।गैरआवासीय नेपालीहरुले लगानीका लागि आइपीओ जारी हुनेछ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, माननीय उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट समेतको उपस्थितिमा अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको हो ।

सो अवसरमा अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयको तर्फबाट उक्त कोष सञ्‍चालन गर्ने सन्दर्भमा आवश्यक रकमका साथै अन्य सहयोग उपलब्ध गराउने प्रतिवद्धता प्रकट गर्दै एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाई तत्काल काम शुरु गर्न गैरआवासीय नेपाली संघलाई आग्रह गरे। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रकृया छिट्टै टुङ्ग्याई दर्ता काम शुरु गर्ने प्रतिवद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्