निफ फिल्म फेस्टिभलको लाइन अप सार्वजनिक, ३१ देशका ६३ चलचित्र प्रदर्शन « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

निफ फिल्म फेस्टिभलको लाइन अप सार्वजनिक, ३१ देशका ६३ चलचित्र प्रदर्शन



काठमाडौं । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को चौथौ संस्करणमा देखाइने फिल्मको सूची सार्वजनिक गरिएको छ । आयोजक नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले शनिबार साँझ यो पटकको महोत्सवमा छानिएका फिल्मको सूची सार्वजनिक गरेको हो । आयोजकले विदेशी र नेपाली गरी महोत्सव अवधिभर ६३ वटा चलचित्र प्रदर्शन गरिने जानकारी गराएको छ ।
आयोजकले संसारका ५२ देशबाट प्राप्त ४ सय ५० फिल्मबाट ६३ वटा फिल्मको छानेको जनाएको छ । केपी पाठक हस्ताक्षरित संस्थाको तर्फद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘महामारीको समयमा पनि यति धेरै संख्यामा फिल्म आउनु, हामीप्रतिको विश्वासको रुपमा लिएका छौं ।

तर, विभिन्न सिमितताका कारण सबै फिल्म छान्न सकेनौं । आन्तरिक छनोट समितिले दिएको अंकका आधारमा उच्च अंक पाउने फिल्मलाई समावेश गरेका छौं ।’

सार्वजनिक सूचीमा नेपाली फिचर फिल्मको नाम भने अटाएको छैन । आयोजकले नेपाली फिल्ममेकरले समय माग गरेको तर आफूहरुको सूची सार्वजनिक गर्ने समयसीमा सकिएकाले कुर्न नसकिएको जनााएको छ । आयोजकले फिचर फिल्मको सूची भने पछि सार्वजनिक गर्ने संकेत गरेका छन् ।

सार्वजनिक सूचीमा सर्ट फिल्मतर्फ भने दक्षिण कोरियाको बुसानमा छानिएको राजेश खत्रीको ‘स्केरक्रो’, किम्फमा छानिएको राजन कठेतको ‘बेयर ट्रीज इन दि मिस्ट’ आदि फिल्म अटाएका छन् ।

निफले यसअघि फागुनको १२ देखि १६ सम्म फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरसँग फिल्म मागेको थियो । तर कोरोना भाइरसको महामारी कम नभएका कारण फेस्टिभल वैशाखमा गर्ने निर्णय गरेको थियो । अब भने फेस्टिभल आउँदो वर्षको वैशाख २३ देखि २७ सम्म हुनेछ ।

विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई समावेश गर्ने निर्णय गरेका छौं । कोभिड १९ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड, प्रदान गरिनेछ भने इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजका जुरीको तर्फबाट डन क्विजोट अवार्ड पनि प्रदान गरिनेछ ।

यसैगरि, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बागमती अर्वाड यथावत रुपमा प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख , उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्