आगामी नाइमा मोबिलिटी एक्सपो २०२६ मा वुलिङका चार नयाँ विद्युतीय गाडी सार्वजनिक हुने
काठमाडौं । नेपालका लागि वुलिङ मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तार गर्ने घोषणा गरेको छ।
कम्पनीले विश्वप्रसिद्ध अटोमोबाइल समूह एसएआईसी–जीएम–वुलिङ (एसजीएमडब्लू) को प्रविधिमा आधारित चार नयाँ विद्युतीय मोडेल आगामी नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक गर्ने तयारी गरेको हो।
सन् १९५८ मा स्थापना भएको एसजीएमडब्लूले हालसम्म विश्वभर ३ करोडभन्दा बढी सवारीसाधन उत्पादन गरिसकेको छ। किफायती र व्यावहारिक विद्युतीय सवारीका लागि परिचित वुलिङ ब्रान्ड नेपालमा सन् २०२३ देखि उपलब्ध छ। अब कम्पनीले नयाँ मोडेलमार्फत आफ्नो उपस्थिति थप विस्तार गर्ने रणनीति लिएको जनाएको छ।
कम्पनीका अनुसार वुलिङले साना सहरी ईभीदेखि ठूला पारिवारिक सवारीसम्मका विभिन्न विकल्प उपलब्ध गराउँदै व्यापक मोबिलिटी समाधान प्रदान गर्नेछ।
नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने पहिलो मोडेल एक्सिओन ईभी हुनेछ। सात सिट क्षमताको यो प्रिमियम एसयूभीमा ६९.२ किलोवाट–घण्टाको ‘म्याजिक ब्याट्री प्रो’ जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा ५३० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। यसमा ३६० डिग्री क्यामेरा, एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), फोल्डिङ तेस्रो पङ्क्तिका सिट तथा ५४० लिटरसम्मको बुट स्पेस उपलब्ध हुनेछ।
दोस्रो मोडेल चार ढोकायुक्त वुलिङ मिनी ईभी हो। सहरी यात्रालाई लक्षित गरी ल्याउन लागिएको यो कम्प्याक्ट कार ‘ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल प्लेटफर्ममा आधारित छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ३०१ किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसमा डीसी फास्ट चार्जिङ सुविधा पनि उपलब्ध हुनेछ। नेपाली बजारमा उपलब्ध अधिकांश मिनी कारभन्दा प्रतिस्पर्धी मूल्य र बढी सुविधा दिने लक्ष्य कम्पनीको छ।
तेस्रो मोडेल डेरियन एमपिभी ईभी हो। सात सिट क्षमताको यो गाडी लामो दूरीको यात्रा र पारिवारिक प्रयोगलाई लक्षित गरी ल्याउन लागिएको हो। यसले एकपटकको चार्जमा ५४० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। स्लाइडिङ ढोका र प्रिमियम इन्टेरियर यसका प्रमुख विशेषता हुन्।
चौथो मोडेल बिङ्गो ईभी हो। नेपाली बजारमा लोकप्रिय बनेको यो ह्याचब्याक नयाँ संस्करणमा थप शक्ति र सुविधासहित आउने कम्पनीले जनाएको छ। यो गाडी ३१.९ किलोवाट–घण्टा ब्याट्रीमा ३३३ किलोमिटर तथा ३७.९ किलोवाट–घण्टा ब्याट्रीमा ४१० किलोमिटरसम्मको रेन्जसहित उपलब्ध हुनेछ। यसमा ५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ६७ अश्वशक्ति र १५० न्युटन मिटर टर्क उत्पादन गर्छ। १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन, ७९० लिटरसम्मको कार्गो स्पेस तथा एबीएस, ईबीडी र भेरियन्टअनुसार ६ वटासम्म एयरब्याग जस्ता सुरक्षा सुविधाहरू पनि यसमा उपलब्ध हुनेछन्।
प्यारामाउन्ट मोटर्सले देशभर विस्तार गरेको शोरुम र सर्भिस सेन्टर सञ्जालका कारण वुलिङका नयाँ मोडेलले नेपाली बजारमा राम्रो प्रतिस्पर्धा गर्ने कम्पनीको विश्वास छ। आगामी नाइमा मोबिलिटी एक्सपो २०२६ मा यी नयाँ विद्युतीय सवारी प्रत्यक्ष अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।












