‘आर्थिक वृद्धिका लागि सरकारसँग सहकार्य’ « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

‘आर्थिक वृद्धिका लागि सरकारसँग सहकार्य’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले दोहोरो अङ्कको आर्थिक वृद्धि र वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने चुनौती पूरा गर्न सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन । कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र माथि उठाउन कुनै एक क्षेत्र मात्र सक्षम भएर नहुने भन्दै अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेको बताए ।

बुटवल उद्योग वाणिज्य सङ्घको ६७ औँ साधारण सभा तथा २७ औँ अधिवेशनको सोमबार उद्घाटन गर्दै अध्यक्ष गोल्छाले देशलाई समृद्ध बनाउन सरकार र निजी क्षेत्र साथसाथै अघि बढ्नुपर्ने भन्दै औद्योगिक क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशले कुल गार्हस्थ्य उत्पादनमा १५ प्रतिशतको योगदान दिइरहेको भन्दै भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै यो क्षेत्रले हजारौँ रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए ।

महासङ्घको नेतृत्वमा आएसँगै आफूहरूले देशलाई समृद्ध बनाउने गरी सरकारलाई विभिन्न ५३ वटा बुँदागत सुझाव दिने तयारी गरिरहेको भन्दै उहाँले त्यसबाट देशले थप आर्थिक समृद्धि हासिल गर्ने जनाएका छन ।रुपन्देहीमा बन्न लागेको नयाँ औद्योगिक क्षेत्रको निर्माणले यस क्षेत्रमा हजारौँ रोजगारी सिर्जना हुने भन्दै अध्यक्ष गोल्छाले यहाँ लगानी गर्न चाहने उद्योगी व्यवसायीको आकर्षण बताए । उहाँले काठमाडौँ अत्यन्तै महँगो बन्दै गएको र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भए दैनिक हजारौँ युवा यही बाटो विदेश उड्न पाउने भन्दै त्यसबाट सेवा र रोजगारीको क्षेत्र थप विस्तार हुने बताए ।

नेपाल राष्ट्र बैङ्कले लिएको मौद्रिक नीतिले मुलुकको उद्योग क्षेत्रले केही भए पनि राहत पाएको भन्दै अध्यक्ष गोल्छाले अझै पनि बैङ्क तथा वित्तीय संस्थाले कोभिड–१९ बाट प्रभावित उद्योगको क्षेत्रमा ब्याज दर घटाउन लचिलो बन्नुपर्ने बताएका छन ।निजी क्षेत्र उत्साहित भएको भन्दै उहाँले वार्षिक चार लाख थप रोजगारी सिर्जना गर्न सकिने दिशामा महासङ्घले योजना सार्वजनिक गर्न लागेको पनि जानकारी दिएका छन ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले उद्योगका समस्या समाधान गर्न योजना आयोगले लिखित रूपमा सुझाव माग गरिरहेको बताएका थिए । प्रदेश सरकारले औद्योगिक क्षेत्रको विकास र उद्योगी व्यवसायीलाई प्रोत्साहन दिन राहत र संरक्षणका कार्यक्रम ल्याउन लागेको उहाँले बताएका छन ।बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्