कुमारी बैंकद्वारा ललितपुरको ग्वार्काे तरकारी बजारमा क्यूआर हस्तान्तरण, मेयर महर्जनले भने छोरीले सिकाएर चलाउन जाने « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

कुमारी बैंकद्वारा ललितपुरको ग्वार्काे तरकारी बजारमा क्यूआर हस्तान्तरण, मेयर महर्जनले भने छोरीले सिकाएर चलाउन जाने



काठमाडौं । कुमारी बैंकले ललितपुरको ग्वार्काे तरकारी तथा फलफूल बजारमा क्यूआर कोड हस्तान्तरण गरेको छ । पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटलाइजेसन जान अनुरोध गरेसँगै कुमारी बैंकले उक्त बजारमा क्यूआर हस्तान्तरण गरेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त बजारका व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण र तरकारी किनेर प्रविधिको शुभारम्भ गरेका हुन् । 

ग्वार्को तरकारी तथा फलफूल बजारका व्यवसायी स्वस्तिका तिमल्सेना, सहदेव दाहाल, नवीन नगरकोटी, जलप्रसाद ढुंगाना, शुक्रराज श्रेष्ठ, सविना अधिकारी, प्रमिला तामाङ्, जोयफ मिया र उपसरा दङ्गल लाई क्यू आर हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा कुमारी बैंकका कार्यकारी अधिकृत ( सीइओ ) सुरेन्द्र भण्डारीले ५० प्रतिशत भन्दा बढि युवाहरू टेक्नोलोजीमा समावेश भएकाले यो प्रविधिलाई ब्यापक बनाउनुपर्नेमा जोड दिए । कुमारी बैंकले हालसम्म ७ हजार ३ सय क्यूआर प्वाइन्ट टर्मिनल जडान गरिसकेको उनले बताए । निकट भविष्यमा क्यूआर प्रविधिलाई अझै ब्यापक बनाउने लक्ष्य कुमारी बैंकले लिएको सिइओ भण्डारीले बताए । 

क्यूआर हस्तान्तरणका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले छोरीले क्यूआर कोड चलाउन सिकाएको बताएका छन् । उनले भने, “अलि उमेर पुगेकाहरू टेक्नोलोजीमा अलिकति पछाडि परेका छन्, तर पनि प्रयास गर्दा हुँदो रहेछ, मैले यहाँ आउनको निमित्त क्यूआरबाट केही समान किनुँला पैसा तिर्न जानेन भन्दाखेरि त लाज हुन्छ भनेर मेरो सानो छोरीले इन्स्टल गरिदियो, क्यूआर कोडको । अव अहिले सामान किनेर पैसा तिर्छु भनेर आएको हो, सिकेर नसिक्ने कुरा केही पनि छैन ।” उनले आफ्नो नगरपालिकामा क्यूआर प्रविधि लागू गरेकोमा कुमारी बैंकलाई धन्यबाद दिए । उक्त प्रविधिले महानगरपालिकाले लिएको स्मार्ट सिटी परियोजनालाई सहयोग पुगेको मेयर महर्जनले बताए । 


प्रतिक्रिया दिनुहोस्