काठमाडौं रेजर्स फुटबल क्लबका मार्की प्लेयरमा विकेश कुथु र कोचमा बाल गोपाल महर्जन « Arthapath.com
५ चैत्र २०७७, बिहीबार

काठमाडौं रेजर्स फुटबल क्लबका मार्की प्लेयरमा विकेश कुथु र कोचमा बाल गोपाल महर्जन



काठमाडौं । नेपाल सुपर लिगका लागि काठमाडौं रेजर्स फुटबल क्लबले बिहीबार विकेश कुथु र बाल गोपाल महर्जनलाई क्लबको मार्की प्लेयर र कोचका रुपमा सार्वजनिक गरेको छ । केही सातामा सुरु हुने नेपाल सुपर लिगको पहिलो संस्करणमा उतार्न काठमाडौं रेजर्सले उहाँहरुलाई मार्की प्लेयर र कोचका रुपमा बिहीबार सार्वजनिक गरेको हो ।

विकेश कुथु नेपालको राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्य तथा कुशल गोल किपर हुनुहुन्छ । १९ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यु गर्नु भएको विकेश कुथुले मोफसलमा हुने टुर्नामेन्टहरुमा हालसम्म ७ पटक बेस्ट गोल किपर अवार्ड पाइसक्नु भएको छ । साग फुटबल, बनबन्धु कप र एएफसी सोलिडारिटी कपमा नेपालले गोल्ड मेडल हासिल गर्दा उहाँले आफूलाई टिमका महत्वपूर्ण सदस्य सावित गर्नु भएको थियो । कुथु जस्ता असामान्य फुटबलरलाई अनुबन्धन गर्न पाउँदा काठमाडौं रेजर्स क्लब गर्व महसुस गर्छ ।

त्यसैगरी, नेपाली फुटबल जगतका विरासत चर्चित खेलाडी बालगोपाल महर्जनलाई काठमाडौं रेजर्सले कोचका रुपमा अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय टिमलाई लामो समयसम्म नेतृत्व दिनु भएको महर्जन राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा आफ्नो रणनैतिक क्षमतालाई प्रदर्शन गरिसक्नु भएको छ । साफ गेममा खेलाडी र कोच दुवैका रुपमा गोल्ड मेडल जितिसक्नु भएको बाल गोपाल महर्जन नेपाली फुटबल फ्यानमाझ लोकप्रिय नाम हो । विकेश कुथु र बाल गोपाल महर्जन दुवैलाई काठमाडौं रेजर्स क्लबमा आबद्ध गर्न पाउँदा क्लब हर्षित छ ।

काठमाडौंमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौं रेजर्सले विज्ञान राज शर्मालाई टिमका कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ । उहाँको मार्गदर्शन र नेतृत्वमा क्लबमा सामुहिक भावनालाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा काठमाडौं रेजर्स क्लबधनी तथा एमएडब्लु ग्रुपमा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले नेपाली फुटबलको विकास र विस्तारमा यामाहा नेपालको विगत लामो समयदेखि साथ रहँदै आएको बताउनु भयो । ‘हामी शहिद स्मारक लिगमा धेरै सिजन आवद्ध रह्यौं । हामीलाई विश्वास छ राम्रो पूर्वाधार र प्रतिबद्धता भएमा नेपाली फुटबलले अभुतपूर्व फड्को मार्नेछ र यसको फ्यान र फलोअर पनि बढ्नेछ ।’ उहाँले भन्नु भयो, ‘नेपाल सुपर लिग नेपाली फुटबलको विकास गर्ने नयाँ कन्सेप्ट हो जसले खेलाडीहरुलाई पनि एक्सपोज हुने धेरै अवसर दिन्छ । यामाहाले काठमाडौं रेजर्सलाई अगाडी ल्याएर फुटबलको यो महामेलामा सहभागिता जनाउँदैछौं । क्लबको मार्की प्लेयरका रुपमा विकेश कुथु र कोचका रुपमा बाल गोपाल महर्जनलाई पाउनु असाधारण कुरा हो ।’

नेपाली बजारमा स्पोर्टी स्कुटरको छवि बनाउन सफल यामाहाको रे जेडआर १२५ एफआई यो लिगको लागि ‘पर्फेक्ट फिट’ हुने अपेक्षा एमएडब्लु ग्रुप र यामाहा नेपालले लिएको छ । नेपाल सुपर लिगमा सहभागी हुनु र एन्फासँग सहकार्य गर्नु यामाहा नेपालको लागि गर्वको कुरा हो । ग्रुपले नेपाली खेल जगतको विकासमा योगदान गर्नुका साथै युवा तथा प्रतिभावान् खेलाडीलाई यो क्षेत्रलाई आफ्नो पेसा बनाउन प्रोत्साहित गर्नेछ ।

त्यसैगरी, नेपालको राजधानीलाई प्रतिनिधित्व गर्ने क्लबको हिस्सा बन्न पाउँदा खुसी भएको बाल गोपाल महर्जन र विकेश कुथुले बताउनु भयो । ‘लिगमा काठमाडौं रेजर्स ब्याज र राजधानीलाई प्रतिनिधित्व गर्न पाउँदा हामी धेरै खुसी छौं । अब हामी लिगको टाइटल जित्ने क्षमता र चाहना भएको खेलाडी अनुबन्ध गरेर क्लबलाई पूर्णता दिने लक्ष्यका साथ अघि बढ्नेछौं,’ टिमका कोच बाल गोपाल महर्जनले भन्नु भयो ।

मार्की प्लेयर विकेश कुथुले काठमाडौं रेजर्सको रणनीति र दीर्घकालीन योजनाबाट प्रभावित भएको अनुबन्धपत्रमा हस्ताक्षर गरेको बताउनु भयो । ‘देशको राजधानीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी छु । एकताको भावना, आत्मियता र इच्छाशक्तिले मात्र उपाधी जित्न सकिने हामीले राम्ररी बुझेका छौं,’ उहाँले भन्नु भयो ।

त्यसैगरी, क्लबका कार्यकारी अध्यक्ष विज्ञान राज शर्माले उत्कट उत्सुकताका साथ टिममा सहभागी भएको बताउनु भयो । ‘क्लबको मनोबललाई उच्च राख्न र फ्यानहरुको मन जित्न महत्वपूर्ण योगदान दिन सक्नेमा म विश्वस्त छु,’ उहाँले भन्नु भयो ।

काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिगका सात टिममध्ये एक हो । यामाहा नेपालको स्वामित्व रहेको यो क्लबको नाम यामाहाको चर्चित स्कुटर रेजेडआर १२५ एफआईबाट आयातित छ । यो स्पोर्टी लुक्स र पर्फमेन्सका कारण ग्राहकमाझ लोकप्रिय स्कुटर हो । सुपर लिगमा सहभागी भएर खेल क्षेत्रको विकासमा अनवरत लागि रहेको एमएडब्लु ग्रुप र यामाहा नेपालले नयाँ दिशामा पाइला अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्