सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा « Arthapath.com
८ चैत्र २०७७, आईतवार

सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा



काठमाडौं । पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्युआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो । सनिबार सौराहामा एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गर्नुभयो । यो सँगै सौराहाका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकहरुलाई नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका प्रमुख नारायण बनले पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा विकास गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताउनुभयो । उहाँले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शीता कायम हुने बताउनुभयो ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्ने बताउनु भयो । कार्ड लगायतका भुक्तानीले वर्षेनी अर्बौँ रुपैयाँ विदेशीने गरेको बताउदै क्यूआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफुहरुले प्राथमिकतामा राखेको बताउनु भयो ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि बृद्धि हुने बताउनुभयो । उहाँले व्यवसायीहरुले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्