पहिला बिक्री नहुने स्थानीयलाई छुट्याएको आईपीओ अचेल धमाधम बिक्दै « Arthapath.com
९ चैत्र २०७७, सोमबार

पहिला बिक्री नहुने स्थानीयलाई छुट्याएको आईपीओ अचेल धमाधम बिक्दै



काठमाडौं । केही समयअघिसम्म विभिन्न हाइड्रोपावर कम्पनीले निष्काशन गरेको स्थानीय बासिन्दाको लागि आरक्षण गरिएको सेयरको आईपीओ बिक्री नभएर समस्यामा परे पनि अहिले भने यस्तो आईपीओ खरिद गर्न हानाथापी पर्ने गरेको छ । दुई वर्षअघि शिवम् सिमेन्टस्ले निष्काशन गरेको लोकल आईपीओ मकवानपुरवासीले खरिद गरेका थिएनन् ।

आधा पनि बिक्री नभएपछि सो हिस्सासमेत सर्वसाधारणको लागि निष्काशन गरिएको थियो । त्यसपछि निष्काशन गरिएको ६ वटा जलविद्युत् कम्पनीको लोकल आईपीओसमेत बिक्री भएन । सेयर बजारको क्रेज गाउँ–गाउँसम्म पुगेपछि पछिल्लो समयमा स्थानीयस्तरमा निष्काशन भएका आईपीओहरू सजिलै बिक्री हुन थालेका छन् । विगतका वर्षहरूमा स्थानीयस्तरमा जारी गरिएका सेयर बिक्री गर्न कम्पनीहरूलाई निकै सकस हुने गरेको थियो ।

पछिल्लो समयमा प्राथमिक निष्काशनहरू बढ्दै गएको र दोस्रो बजारमा समेत सेयर बजार ऐतिहासिक बिन्दुमा पुगेको अवस्थामा गाउँ–गाउँमा सेयरसम्बन्धी जानकारीहरू पुग्दा आईपीओ भर्नेहरू बढेका छन् । केही वर्षअघि स्थानीयस्तरमा निष्काशन भएका आईपीओहरू बिक्री नहुने
गरेकोमा पछिल्लो समयमा निष्काशनभन्दा बढी माग आउने गरेको छ ।

गत माघमा स्थानीयलाई सेयर निष्काशन गरेको सिंगटी हाइड्रोको सेयरमा पनि निष्काशनभन्दा बढी माग आएको थियो । यस्तै, रुरु हाइड्रोको आईपीओमा पनि मागभन्दा बढी आवेदन परेपछि छोटो अवधिमा नै बिक्री बन्द भएको छ । त्यस्तै चन्द्रागिरीले स्थानिय प्रभावितलाई छुट्याएको आइपीओमा पनि माग भन्दा बढि आवेदन परेको थियो ।


प्रतिक्रिया दिनुहोस्