अर्थमन्त्रीले बोर्ड अध्यक्षलाई बजार प्रभावित गर्ने निर्णय नगर्न निर्देशन दिएपछि मंगलबार नेप्सेमा हरियाली छायो « Arthapath.com
८ असार २०७८, मंगलवार

अर्थमन्त्रीले बोर्ड अध्यक्षलाई बजार प्रभावित गर्ने निर्णय नगर्न निर्देशन दिएपछि मंगलबार नेप्सेमा हरियाली छायो



काठमाडौं । निरन्तर ओरालो लागेको नेप्सेले पुन आफ्नै लयमा फर्किएको छ । धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी भनेर सार्वजनिक गरेपछि लगानीकर्ता निराश बनेर भारि अंकले घटेको नेप्से पुनः उकालो यात्रा तय गरेको छ । सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयमा बोलाएर सेयर बजारका बारेमा छलफल गरेका थिए । अर्थमन्त्री पौडेलले बोर्ड अध्यक्ष ढुंगानालाई सेयर बजारलाई प्रभावित गर्ने निर्णय नगर्न निर्देशन दिएपछि मंगलबार नेप्सेमा हरियाली छाएको हो ।

निरन्तर नयाँ–नयाँ उचाईमा पुगेको नेप्सेमा ओरालो यात्रा लाग्दा लगानीकर्ता त्रसित भएका थिए तर मंगलबार भने हरियाली छाएको छ । ३०२२ अंकमा पुगेर नयाँ कीर्तिमानी कायम गरेको नेप्से धितोपत्र बोर्डले ५१ कम्पनी जोखिमयुक्त भनेर सार्वजनिक गरेपछि निरन्तर ओरालो लागि रहेको थियो ।

मंगलबार नेप्से परिसूचक ७९.४३ अंकले बढेर २९१३.८४ अंकमा बन्द भएको छ । सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४१ अंकमा बन्द भएको थियो । यसअघि आइतबार ६३.२८ अंकले गिरावट आएको थियो ।

मंगलबार दिनभरिमा २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार कित्ता सेयर १ लाख १२ हजार पटक किनबेच हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो सोमबार ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार सबै समूहमा हरियाली छाएको छ । कुनै पनि समूहमा रातो देखिएको छैन । ट्रेडिङ समूह २१.५४ अंक, अन्य समूह ३३.९२ अंक, जीवन बीमा समूह ३८४.८६ अंक, म्युचुअल फण्ड समूह ०.२१ अंक, इन्भेष्टमेन्ट समूह ४.५८ अंक, डेभलपमेन्ट बैंक समूह २५१.३३ अंक, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रो समूह १६२.४१ अंक, माइक्रोफाइनान्स समूह ६४.९० अंक, बैंकिङ्ग समूह ४४.१७ अंक, फाइनान्स समूह १२७.०६ अंक, होटल तथा पर्यटन समूह ११५.२१ अंक, हाइड्रो पावर समूह १५०.०१ अंक र निर्जीवन बीमा समूह ३७५.२३ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्