बाढीपहिरो र डुबानमा परी ४४ जनाको मृत्यु, ६० जना घाइते हुँदा २७ जना बेपत्ता « Arthapath.com
२३ असार २०७८, बुधबार

बाढीपहिरो र डुबानमा परी ४४ जनाको मृत्यु, ६० जना घाइते हुँदा २७ जना बेपत्ता



काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २४ जना पुरुष, १३ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन् । सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३र३ जना, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा २र२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १र१ जना रहेको प्रहरिले जनाएको छ ।

पछिल्लो २४ घण्टामा म्याग्दी मंगला गाउँपालिका-५ छिस्बाङस्थित थम बहादुर बुढाथोकीको घर बाढीले भत्किँदा सोही घरमा पसल गरी बस्ने मालिका गाउँपालिका-६ दुखु घर भएका २३ वर्षीय गजिन रोका र उनकै श्रीमती १९ वर्षीया बिना रोकाको मृत्यु भएको प्रहरिले जनाएको बताएको छ ।

बाढीपहिरो र डुबानमा परी यस अवधिमा ६० जना घाइते भएका छन् । जसमा ३२ जना पुरुष, १४ जना महिला, १० जना बालक र ४ जना बालिका रहेका छन् । बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट ८र८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४र४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण रसुवा, मुस्ताङ, बाजुरा, सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ, कास्की लगायतका स्थानहरुमा बुधबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।

बाढीको कारण १ हजार ४ सय २८ वटा घर डुबानमा परेका छन् । ५ सय ४५ वटा घर, ९७ वटा गोठ, ३९ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ३६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा ४ सय ९६ वटा विपद्‍का घटनाबाट १ हजार १ सय ५४ वटा घर परिवारका ५ हजार ३ सय ८५ जना मानिस विस्थापित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्