अर्थ मन्त्रालयलाई धितोपत्र बोर्डले पठायो स्पष्टिकरण, कम्पनीलाई अनुमति नदिएकाले आचारसंहिता आकर्षित हुँदैन « Arthapath.com
१८ श्रावण २०७८, सोमबार

अर्थ मन्त्रालयलाई धितोपत्र बोर्डले पठायो स्पष्टिकरण, कम्पनीलाई अनुमति नदिएकाले आचारसंहिता आकर्षित हुँदैन



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पारिवारिक सदस्यको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको आरोप लागेपछि अर्थ मन्त्रालयले सत्य तथ्य मागेको थियो । अर्थ मन्त्रालयले “विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका त्यहाँ बोर्डसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ, सञ्चारमाध्यममा आएका उक्त विषय वस्तुको सम्बन्धमा सत्य, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन भनेको थियो । 

सोही बमोजिम नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले ४ पन्ने स्पष्टीकरण पठाएको छ । मन्त्रालयले मागेको सत्य तथ्यबारे नेपाल धितोपत्र बोर्डले आइतबार पेश गरेको स्रोतले बताएको छ ।  

बोर्डले पठाएको प्रष्टिकरणमा सर्वोत्तम सिमेन्ट नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नभएकाले क्षेत्राधिकार भित्र नपर्ने दावी गरेको स्रोतले बताएको छ । बोर्ड सदस्यले सूचीकृत कम्पनीको सेयर किन्न नपाउने भनेर आचारसंहितामा उल्लेख छ तर कम्पनीलाई हालसम्म अनुमति नदिएकाले यस विषयमा आचारसंहिता लागू नहुने बताईएको छ । विवाहित छोरी एकाघरका भित्र पर्ने भएकाले सबै कुरा तथ्यहीन र भ्रमपूर्ण रहेको बोर्डको दावी छ । 

सर्वोत्तम सिमेन्टले आईपीओ निष्कासनको लागी आवेदन नदिएकाले बोर्डको नियमन भित्र नपर्ने स्पष्टीकरण पत्रमा उल्लेख गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार आचारसंहिताले बोर्डले अनुमति दिएको कम्पनीको सेयर मात्र खरिद गर्न नपाइने भनेको छ तर सर्वोत्तम सिमेन्टलाई बोर्डले अनुमति नदिएकोले आचारसंहितामा रहेका प्रावधान आकर्षित हुदैन ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका सीईओ चन्द्रसिंह साउदले पारिवारिक सदस्यको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको खुलासा भएपछि अर्थमन्त्रालयले समेत चासो देखाएको हो । 


प्रतिक्रिया दिनुहोस्