यो वर्षको मनसुन निकै घातक, अहिलेसम्म सडकमा मात्रै ८० करोडको क्षति « Arthapath.com
२० श्रावण २०७८, बुधबार

यो वर्षको मनसुन निकै घातक, अहिलेसम्म सडकमा मात्रै ८० करोडको क्षति



काडमाडौं । यो सालको मनसुन नेपालका लागि निकै घातक भइसकेको छ । वर्षात् याम सुरुभएदेखि नै पहाडी क्षेत्रमा आएको बाढीले थुप्रै जलविद्युत् आयोजनालाई प्रभावित पारेको छ । बाढीले हालसम्म सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकको मेलम्चिमा परेको छ । त्यहाँ ठूलो संख्यामा जनधनको क्षति भएको छ । यसबाहेक देशब्यापी रुपमा सडकहरु पनि यो सालको बाढीले धेरै प्रभावित भइसकेका छन् ।

वर्षातका कारण आएको बाढी पहिराले सडकमा मात्रै झण्डै ८० करोड रुपैयाँको क्षति भएको विवरण सार्वजनिक भएको छ । मनसुन सुरु भएयता देशभरमा हालसम्म १५८ सडक अवरुद्ध भएका छन् । साथै २५ पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ ।

अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलका सन्दर्भमा भने त्यस्तो अनुमान गर्न नसकिएको विभागकासम्भार महाशाखाका प्रमुख भीमार्जुन अधिकारीलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले लेखेको छ ।

अधिकारीका अनुसार खोलाको सतह माथिसम्म भइरहेकाले पुलमा अहिले नै क्षति देखिएको छैन । उनले भने, ‘वर्षा कम भएपछि मात्रै त्यसको क्षति यकिन हुनेछ ।’ क्षतिग्रस्तमध्ये हाल १० सडकबाहेक अरू आंशिक वा पूर्णरूपमा सञ्चालनमा आइसकेको छन् । हालसम्म १५८ सडक अवरुद्ध भएकामा ५२ सडक पूर्णरूपमा चालु भइसकेको र ९६ सडक एकातर्फबाट मात्रै सञ्चालनमा रहेको विभागले जनाएको छ ।

यस वर्ष क्षति पुगेका २५ पुलमध्ये ८ वटा निर्माण सम्पन्न भइसकेका थिए भने अरु ८ वटा निर्माणाधीन अवस्थामा थिए । ७ पुलमा क्षति नभए पनि पहुँच सडक क्षतिग्रस्त हुँदा पुल प्रयोगमा आउन नसकेको महाशाखामा कार्यरत इन्जिनीयर केशव ओझाले बताएका छन् ।

तीन कल्भर्ट र दुई काठको पुलमा पनि बाढीले क्षति पुर्याएको छ । क्षतिग्रस्त बनेका पुलमा निर्माणाधीन भए त्यसको मर्मतको जिम्मेवारी व्यवसायीको हुने र निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका पुलको मर्मतको जिम्मेवारी विभागको हुने इन्जिनीयर ओझाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्