सरकारपछि अब संसदले रोक्दै छ मौद्रिक नीति, केन्द्रिय बैंकको स्वायत्ततामा प्रहार नगर्न पुर्वगभर्नरको आग्रह « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

सरकारपछि अब संसदले रोक्दै छ मौद्रिक नीति, केन्द्रिय बैंकको स्वायत्ततामा प्रहार नगर्न पुर्वगभर्नरको आग्रह



काठमाडौं । यसअघि नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको आग्रहमा रोकिएको मौद्रिक नीतिलाई अब संसदले अड्काएको छ । राष्ट्र बैंकले भोलि शुक्रबार मौद्रिक नीति जारी गर्ने तयारी गरेपछि संसदको अर्थ समितिले भोलि नै यसबारे छलफल गर्न भन्दै बैठक डाकेको छ ।

सदनले छलफल गरिरहेपछि केन्द्रिय बैंकले उसलाई सुनिदिनु पर्ने बाध्यता रहन्छ । राष्ट्र बैंकले साउनको सुरुमै मौद्रिक नीति जारी गर्ने भन्दै गत असार मसान्तमै पुर्वतयारी सकिसकेका थियो । तर त्यसैबीचमा सरकार परिवर्तन भएपछि राष्ट्र बैंक हच्कियो ।

अर्थमन्त्रीले केही दिन पर्खन भनेपछि तयार पारिराखेको मौद्रिक नीतिलाई थन्क्याएको राष्ट्र बैंकले अब चाहीँ शुक्रबार सार्वजनिक गर्ने तयारी थालेको थियो । तर केप ीओली निकटका एमाले नेता कृष्णप्रसाद दाहालले सभापतित्व गरिरहेको संसदको अर्थ समितिले यसबारे भोलि नै छलफल गर्ने भन्दै बैठक डाकेको छ ।

यससँगै भोलि पनि मौद्रिक नीति सार्वजनिक हुने संभावना लगभग टरेको राष्ट्र बैंकका अधिकारीले बताएका छन् । अब आइतबारसम्म मौद्रिक नीति जारी हुनसक्ने संभावना देखिएको छ । सरकार परिवर्तन र संसद पुनस्थापनाको प्रभाव मौद्रिक नीतिमा के कति पर्छ भन्ने अहिले स्पस्ट छैन ।

तर अर्थ समितिकै हिजोको बैठकमा राष्ट्र बैंकका पुर्वगभर्नरहरु डा तीलक रावल, डा चिरञ्जीवि नेपाललगायतले मौद्रिक नीतिमा राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरेका छन् । अर्थसमितिले हिजो पनि मौद्रिक नीतिका बारेमा छलफल गरेको थियो । मौद्रिक नीति रोक्न राष्ट्र बैंकमाथि दबाब दिएको भन्दै चर्को आलोचना खेपेपछि अर्थमन्त्री जनार्दन शर्माले भने यसअघि नै आफूले रोक्न नभनेको स्पस्टिकरण दिएका छन् ।

यसरी केन्द्रिय बैंकमाथि राजनीतिक दबाब सिर्जना गर्दा एकातिर राष्ट्र बैंकको स्वायत्तता खतरामा पर्ने र अर्कातिर वित्तीय प्रणालीले सन्तुलन गुमाउनसक्ने खतरा हुन्छ । अन्तर्राष्ट्रिय जगतमा सरकारले ल्याएको बजेटको प्रभावलाई सन्तुलनमा राख्न मौद्रिक नीतिका लक्ष्य निर्धारण गर्ने गरिन्छ । तर नेपालमा सरकारको बजेटलाई सन्तुलन गर्ने नभइ बजेटलाई सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने परिपाटी बनेको छ ।


प्रतिक्रिया दिनुहोस्