कृषि विकास बैंकको ब्याज आम्दानी घटेपनि नाफा ११ प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा १.७३ अर्ब, ईपीएस कति ?
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १०.८९ प्रतिशत ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा ३ अर्ब ३३ करोड १७ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ ।
असार मसान्तसम्ममा बैंकले खुद ब्याज आमदानी ६.७३ प्रतिशत घटेर ६ अर्ब २६ करोड ४१ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ७१ करोड ६१ लाख २१ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १५.६० प्रतिशत घटेर १ अर्ब ५८ करोड ३१ लाख ५९ हजार रुपैयाँमा सिमित भएको छ । बैंकको खुद ट्रेडिङ्ग आम्दानी ३९ करोड २१ लाख रुपैयाँबाट बढेर ९५ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन मुनाफा २१.०३ प्रतिशत बढेर ५ अर्ब २२ करोड ६७ लाख ३ हजार रुपैयाँ रहेको छ भने अन्य सञ्चालन आम्दानी ३ करोड ५९ लाख रुपैयाँबाट बढेर ५० करोड २९ लाख रुपैयाँ पुगेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५१ करोडबाट घटेर २ करोडमा सीमित भएको छ ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४.१८ प्रतिशत बढेर १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६६ करोड ५३ लाख ९५ हजार रुपैयाँ थियो ।
यस अवधिमा बैंकको चुक्ता पूँजी १५ प्रतिशत बढेर १० अर्ब ९८ करोड ९९ लाख २९ हजार रुपैयाँ, जगेडा कोष १२.९३ प्रतिशत बढेर १५ अर्ब २२ करोड ६१ लाख ७३ हजार रुपैयाँ, निक्षेप १३.२६ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब ६७ करोड ७२ लाख ६९ हजार रुपैयाँ र कर्जा २५.४५ प्रतिशत बढेर १ खर्ब ५२ अर्ब ८६ करोड २५ लाख ४ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ८० पैसा घटेर ३० रुपैयाँ ६५ पैसामा सिमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ ।