पर्यटन दिवसको अवसरमा ७ महिला उद्यमीलाई परिसंघको सम्मान « Arthapath.com
१२ आश्विन २०७८, मंगलवार

पर्यटन दिवसको अवसरमा ७ महिला उद्यमीलाई परिसंघको सम्मान



काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा सक्रिय रूपमा लागेका  ७ जना महिला उद्यमीलाई सम्मान गरेको छ ।  परिसंघले विश्व पर्यटन दिवस २०२१ को अवसरमा ७ जना महिला उद्यमीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्ले रहेका छन् । उनीहरूले पर्यटन प्रवर्धन एवं विकासमा सक्रिय रूपमा रहेको परिसंघले जानकारी दिएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने बताए । नेपालको संस्कृति नै पाहुनाको स्वागत गर्ने भएकाले विदेशी पर्यटकको सत्कारका लागि सधैँ तयार रहेको कोइरालाले जनाएका छन् । स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धनका लागि पहल गर्न पर्यटन क्षेत्रको भूमिका उल्लेखनीय हुने बताए । ‘पर्यटनलाई ग्रामीण इलाकासम्म विस्तार गर्न र दिगो बनाउन महिलाको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने । 

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दिगो आर्थिक विकासको आधारशिला तयार गर्न महिला उद्यमीको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले नेपालेको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थान आवश्यक रहेको पनि उल्लेख गरेका छन् । 
कार्यक्रममा परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्यको रूपमा रहेको जानकारी विश्व समुदायलाई दिन आवश्यक भएको बताए । उनले विभिन्न देशले नेपाललाई ‘रेड लिस्ट’मा राखेको भन्दै त्यसलाई हटाउन परिसंघले पहल गर्ने उल्लेख गरेका छन् । 
यसै गरी परिसंघको वुमन्स लिडरसिप फोरमकी सभापति छाँया शर्माले समस्यामा रहेको पर्यटन क्षेत्रलाई माथि उकास्न महिला उद्यमीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले महिलाहरूलाई सक्षम बनाउँदै उद्यमशील बनाउन सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्