३ दिनमा बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँ घट्दा ७ अर्ब कर्जा लगानी बढ्यो, १ महिनामा ४३ अर्ब बाहिरियो
काठमाडौं । पछिल्लो १ महिनामा बैंकहरुमा निक्षेप घटेको भने कर्जा बढेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा करीब ४३ अर्ब रुपैयाँ निक्षेप घटेको हो । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाए पनि निक्षेप घट्ने क्रम घटेको छैन। वाणिज्य बैंकहरुले गत असोज ३१ गतेसम्म ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । मंसिर ३ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप ४३ अर्ब रुपैयाँ घटेर ४२ खर्ब २६ अर्ब रुपैयाँमात्रै कायम भएको छ ।
त्यस्तै, पछिल्लो १ महिनामा बैंकहरुको कर्जा लगानी ४३ अर्ब रुपैयाँले बढेको छ । असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए भने मंसिर पहिलो सातासम्म आइपुग्दा ४३ अर्ब रुपैयाँ बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ पुर्याएका छन् ।
गएको असोज मसान्तमा ९३.६६ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) अहिले बढेर ९५.६३ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले यस्ता कर्जा निक्षेप अनुपात ८५ प्रतिशतमा कायम राख्नुपर्ने भनेको छ । यद्यपि, यसको हिसाब गर्ने सूत्रमा केही हेरफेर भएकाले थोरैमात्र अन्तर पर्छ । यस अनुसार अहिले बैंकहरुले चाहिनेभन्दा १० प्रतिशत विन्दु बढी कर्जा प्रवाह गरेको देखिन्छ । यो भनेको ४ खर्ब २५ अर्बजति बढी पैसा लगानी भएको छ । यसले बैैंकहरु तरलताको चरम समस्या भोगिरहेको देखिन्छ ।
वाणिज्य बैंकहरुको निक्षेप संकलन मंसिर पहिलो साता ८ अर्ब रुपैयाँले घटेको छ । कात्तिक अन्तिम साता अर्थात ३० गतेसम्म ४२ खर्ब अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको मंसिर पहिलो साता अर्थात ३ गतेसम्म ८ अर्ब रुपैयाँ घटेर ४२ खर्ब २६ अर्ब रुपैयाँमा सिमित भएका छन् ।
यता मंसिर पहिलो साता अर्थात ३ दिनमा बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढेको छ । कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले मंसिर ३ गतेसम्म ७ अर्ब बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।














