५ वटा जीवन बीमा कम्पनीको ३ अर्ब ८२ करोड बराबरको आईपीओ आउँदै « Arthapath.com
७ मंसिर २०७८, मंगलवार

५ वटा जीवन बीमा कम्पनीको ३ अर्ब ८२ करोड बराबरको आईपीओ आउँदै



काठमाडौं । संचालनमा रहेका नयाँ ५ वटा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ८२ करोड बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेका छन् । पछिल्लो समय एक साथ लाईसेन्स पाएका १० वटा नयाँ जीवन बीमा कम्पनी मध्ये ५ वटा कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी गरेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेकोले ७५ करोड रूपैयाँको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । तर आईपीओ निष्काशनपछि भने कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्ने भएको छ ।

रिलायबल नेपाल इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ मा आईपीओ निष्काशनको प्रस्ताव गरेको हो । यसो हुँदा कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।

त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सले भने ६० करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रूपैयाँ पुग्नेछ । कम्पनीले आईपीओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

हाल सन नेपाल लाइफले पनि प्रिमियममा आईपीओ निष्काशन गर्ने घोषणा गरिसकेको छ । तर कम्पनीले बोर्डमा आवेदन भने दिईसकेको छैन । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । महालक्ष्मी लाइफले पनि ६० लाख कित्ता नै आईपिओ निष्काशन गर्ने छ । यस कम्पनीले पनि बोर्डमा आवेदन दिएको छैन । आईपीओ निष्काशनपछि यी दुवै कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ ।

बोर्डमा आवेदन नदिएका कम्पनीले पनि प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारी भईरहेको छ । यसो हुँदा निष्काशन हुने आईपिओ रकम बढ्ने छ, तर प्रिमियम थपेर निष्काशन हुने भएकोले कित्ता संख्या भने समान नै रहने छ ।

ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले भने आईपिओ निष्काशन गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्