तरकारीको मुल्यमा व्यापारीको मनपरी, सर्वसाधारण मर्कामा
काठमाडौं । मौसम अनुसारको तरकारी बजारमा देखिन थाले पनि तरकारीको मुल्य सुन्दा आम सर्वसाधारण तर्सिन थालेका छन् । काउली, आलु, गोलभेँडा, प्याज र अन्य छिटो नष्ट हुने हरियो तरकारीको मुल्य आकासिएको छ । केही दिनदेखि मौसम अनुसारको तरकारी बजारमा आउन त थाल्यो, तर भाउ करिब दोब्बर भएर ।
तर कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तरकारी मुल्य सूची अनुसार तरकारीको मुल्य गत महिनाको भन्दा खासै नबढेको तथ्यांकले देखाएको छ । अहिले कुनै तरकारी पाँच दश रुपैयाँले बढे पनि कुनै तरकारीमा पाँच दश रुपैयाँले नै घटेको छ । बजारमा भने तरकारीको मुल्य आकासिएको नै छ ।
कालीमाटी बजारमा आलु रातोको मुल्य एक धार्नीको १३५ रुपैयाँ रहेको छ तर बजारमा भने सोही आलुको मुल्य १९० रुपैयाँ जति अशुली रहेका छन् । तरकारी व्यवसायी यसरी भाउ बढ्नुमा इन्धनको मूल्यलाई कारण मान्छन् । ढुवानी भाडा बढेपछि सामानको मूल्य स्वतः बढ्ने खुद्रा व्यावसायीहरुको भनाइ छ ।
नेपालमा विगत १९ महिनामा इन्धनको भाउ २१ पटक बढिसकेको छ । यो अवधिमा पेट्रोल ४०, डिजेल ३१ र खाना पकाउने ग्यासको भाउ दुई सय रुपैयाँ बढेको छ ।
अहिले बजारको भाउ बढेको नेपालमा मात्रै भने होइन । अन्तर्राष्ट्रिय रुपमा अत्यावश्यक सामानको भाउ बढेको छ । इन्धन, सवारीसाधनका साथै अन्य सामानको बजारमूल्य अकल्पनीय ढंगमा वृद्धि भएको छ ।
सार्वजनिक गाडीको भाडा, लुगा कपडा, खाद्यान्न, तरकारी लगायतका सबैको मुल्य दशैं भन्दा यता बढेको नै देखिन्छ । ति सब बढ्नुको कारण आयल निगमले बढाएको मुल्यलाई नै आधार मानेको देखिन्छ । मार्कामा पर्ने भनेको सर्वसाधारण र जिवीकोपार्जन गर्ने निमुखा वर्ग नै रहेका छन् । जो दिन भरी ज्याला गरेर घरपरिवार धानिरहेका छन् उनीहरुलाई नै मार्का भइरहेको सुनाइन् बसुन्धारा तरकारी किन्दै गरेकी सुनिता अधिकारीले ।
पाँच जनाको परिवार छ । दुई जना बुढाबढी नै ज्यामी काम गरेर तीन जना छोराछोरी पाली रहेका छौं । कुनै दिन ज्यामी काम पाइन्छ कुनै दिन पाइदैँन । उनले, ‘आँखा भरी आँसु पार्दै भनिन्, मंहगीले दिनको छाक टार्ने वस्तु किन्न नै नसकिने भयो । सरकार के आँखा चिम्लिएर बसेको होला ।’ र्हेनु न रायोको साग किन्न लागेकी, मुठाको कति भनेर सोधेको ४५ रुपैयाँ भन्यो । यो मुठामा ७ पात रायोको छ । कसरी खानु साग अनि कसरी चलाउनु भान्सा भन्दै गुनासो गरिन् ।
बसुन्धाराको बाटोमा साँझ पख लाग्ने त्यो तरकारी बजारमा सुनिता जस्ता धेरै तरकारीको मुल्य सोध्दै कति महंगो भन्दै ठेला ठेलामा सोधिरहेका थिए ।
कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक बर्ष साउन १ गतेदेखि कात्तिक ३० गतेसम्ममा उपत्यकामा ८ करोड ७७ लाख ६० हजार ६१२ किलोग्राम फलफूल तथा तरकारीको आयात भएको छ ।
उपत्यकामा सबैभन्दा बढी भक्तपूर, काठमाण्डौ, रामेछाप, सर्लाही, सिन्धुपाल्चोक मकवानपुर, धादीङ, चितवन, ललीतपूर, काभ्रे, दोलखा, तथा गोर्खा लगायतका जिल्लाहरुबाट अन्य जिल्लाको तुलनामा बढी तरकारी तथा फलफूलको आयात भएको छ ।













