परिणाममुखी अर्थतन्त्र बनाउन सेवा सुविधा सहुलियत हुनुपर्छः अर्थमन्त्री शर्मा
काठमाडौं । परिणाममुखी अर्थतन्त्र बनाउनको लागि सेवा सुविधा सहुलियत बढाउनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थचित्र पुस्तक सार्वजनिक तथा पत्रकार सम्मान कार्यक्रममा बोल्दै मन्त्री शर्माले परिणाममुखी अर्थतन्त्र बनाउन सेवा सुविधालाई सहुलियत बनाउनुपर्ने बताए । ‘लगानीलाई परिणामयोग्य बनाउन सरकारको तर्फबाट सेवा सुविधा सहुलियत बनाउनुपर्नेछ, निजी क्षेत्रले माग गरेजस्तो उपलब्धता हुन नसकेकाले गुनासो आएको छ, त्यसको प्रयास सरकारबाट भइरहेको छ ।’
अर्थमन्त्री शर्माले कोरोना महामारीले गर्दा आर्थिक संकट आएकाले सबै क्षेत्रका सुझावहरू संकलन लिएर काम भइरहेको बताए । निजी क्षेत्र आफ्नो स्वार्थमा मात्रै सीमित भएको उनको भनाई छ । ‘निजी क्षेत्र निजी स्वार्थमा आधारित होइन, अब निजी क्षेत्र आफ्नो स्वार्थमा मात्रै आधारित नभएर राष्ट्र निर्माण र आर्थिक विकासमा लाग्नुपर्छ’, मन्त्री शर्मा बताउँछन् ।
आफूहरूसँग व्यवस्थापनको अभावले गर्दा समस्या देखिएको मन्त्री शर्माले बताए । उनले भने, “हामीसँग साधन स्रोतको कमी होइन, पुँजीको अभाव पनि होइन, बजारको समस्या पनि होइन, केबल हामीसँग छ त व्यवस्थापनको समस्या देखिन्छ, राजनीतिक नेतृत्वमा पनि यो समस्या छ ।”
सरकारले निजी क्षेत्रबाट व्यवस्थापकीय ज्ञान सिक्नुपर्ने बताए । “सरकारको संरक्षणमा नै रहेको नेपाल आयल निगम जस्तो संस्था घाटामा जान लाग्यो भनेर कोलाहल मच्चिएको छ । तर, निजी क्षेत्रमा त्यस्तो समस्या आएको छैन । किन यस्तो हुन्छ ?” अर्थमन्त्री शर्माको प्रश्न छ ।













