१४ लाख स्मार्ट कार्ड, १३ महिनापछि नेपाल आइपुग्यो « Arthapath.com
८ मंसिर २०७८, बुधबार

१४ लाख स्मार्ट कार्ड, १३ महिनापछि नेपाल आइपुग्यो




काठमाडौं । सवारीचालक अनुमति पत्रका लागि आवश्यक पर्ने १४ लाख स्मार्ट कार्ड नेपाल आइ पुगेको छ । नेपालमा सवारीचालक अनुमति पत्रका लागि आवश्यक स्मार्ट कार्ड ल्याउने जिम्मा पाएको फ्रान्सेली कम्पनीले नेपालमा कार्ड ल्याइपुर्याएको हो ।

बुधबार काठमाडौंको त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा १४ लाख स्मार्टकार्ड नेपाल आइपुगेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । ग्लोबल टेण्डर आह्वान गरेको १७ महिना र टेण्डर हात पारेको १३ महिनापछि कम्पनीले नेपालमा स्मार्टकार्ड लाईसेन्स पुर्याएको हो ।

आर्थिक बर्ष २०७७/०७८ को अन्तिममा स्मार्ट लाइसेन्स छपाईका लागि आवश्यक कार्ड अभाव भएको भन्दै १४ लाख कार्ड आपुर्तिका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । त्यसको ४ महिनापछि कार्ड ल्याउने जिम्मा फ्रान्सेली कम्पनी सेल्प एसएसएले पाएको थियो ।

विभागले तत्काल ट्रायल दिएका सेवाग्राहीलाई अस्थायी लाइसेन्सका रुपमा प्रोभिजनल कार्डको व्यवस्था गरेको छ । हाल ट्रायल दिएर पास भएका सेवाग्राहीले तत्काल स्मार्टकार्ड भने नपाएपनि त्यसको सट्टा प्रोभिजनल लाईसेन्स पाउँदै आएका छन् । क्यआर कोडसहितको उक्त लाईसेन्सको समयावधि १ बर्षको हुने र त्यसपश्चात मात्रै सेवाग्राहीले स्मार्ट लाईसेन्स पाउने व्यवस्था विभागले गरेको छ । लाइसेन्स नवीकरण गरेर स्मार्ट लाइसेन्स पर्खिरहेकाहरुले भने अब केहि दिनमै स्मार्ट लाइसेन्स प्राप्त गर्ने विभागले जानकारी दिएको छ ।

विभागले सवारी चालक अनुमतिपत्रका लागि खोलेको अनलाइन आवेदनमा झण्डै ६ लाखको हाराहारीमा सेवाग्राहीले आवेदन दिएका छन् । यस्तै लाखौं सेवाग्राहीहरु पुनः आवेदनको पर्खाइमा छन् ।


प्रतिक्रिया दिनुहोस्