राजनीतिक दलमात्र होइन, गाडी बेच्ने ब्यापारीमा पनि चुल्हियो चुनावि रन्को « Arthapath.com
१४ मंसिर २०७८, मंगलवार

राजनीतिक दलमात्र होइन, गाडी बेच्ने ब्यापारीमा पनि चुल्हियो चुनावि रन्को



काठमाडौं । अहिले देशभर प्रमुख राजनीतिक दलहरु आफ्नो सांगठनिक चुनावमा व्यस्त छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्ना-आफ्ना दलको नयाँ नेतृत्व चुन्ने प्रक्रियामा छन् । यही बेला नेपालमा गाडी तथा मोटरसाइकल र अटोपार्टस् बेच्ने ब्यापारीहरुलाई पनि चुनावको रन्कोले छोएको छ ।

अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा एशोसियशन अफ नेपालको निर्वाचन आगामी २२ र २३ मंसिरमा हुँदै छ । निर्वाचनको मिति नजिकिएसँगै अध्यक्ष लगायत विभिन्न पदमा उमेद्वारी घोषणा गर्ने क्रम पनि तीव्र भएको छ । नाडा अध्यक्षमा यस पटक करण चौधरी र ध्रुव थापाले उमेद्वारी दिने तयारी गरेका छन् । उनीहरु मतदाता रिझाउन मरिमेटेर लागिसकेका छन् ।

दुवै पक्षले संस्थाको नेतृत्व हत्याउन प्रचार प्रसारलाई व्यापक बनाएका छन् । अध्यक्षका उमेद्वार ध्रुव थापाले पोखराबाट प्रचारप्रसारलाई तीव्रता दिएका छन् । चौधरीले भने काठमाडौंका मतदातासँग मत माग्दैछन् ।

थापालाई कास्कीको पोखरा, लेखनाथ, बाग्लुङ, पर्वत, तनहूँ र काठमाडौंको नयाँबजार क्षेत्रका व्यवासायीको समर्थन रहेको बताइएको छ । उनी आफ्नो उक्त पकड क्षेत्रमा छलफल बढाउन थालेका छन् । नाडाका सबै पूर्व अध्यक्षहरूले आफ्नो समूहलाई समर्थन गरिरहेको दावी थापाले गरेका छन् ।

अध्यक्षका प्रत्यासी थापाले आफू र आफ्नो समूह नेतृत्वमा आएपछि गरिने नीतिगत सुधारबारे अवधारणा सार्वजनिक गरेका छन् । उनले ‘नाडा अटो शो’को प्याटेन्ट लिनेदेखि मोफसल (काठमाडौं उपत्यका बाहिर)मा पनि ‘अटो शो’ गर्ने अवधारणा अगाडि सारेका छन् ।

उता करण चौधरी भने २ महिनाअघिदेखी भोट माग्नै व्यास्त छन् । सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण अहिले नाडाको उपाध्यक्ष छन् । उनका प्रतिद्वन्दी थापा भने नाडाको पूर्वउपाध्यक्ष हुन् ।

निर्वाचनका लागि चौधरी समूहभन्दा पनि थापा समूह डटेर लागेको छ । थापाले आफ्नो समुह बनाएर प्रचार बढाए भने चौधरीले धेरै अघि टिम सार्वजनिक गरेर प्रचार गरिरहेका छन् । चौधरी नेपालमा सुजुकी ब्राण्डका गाडि बेच्छन् । नेपाल ल्युब आयलको निर्देशकका रुपमा पनि उनी काम गरिरहेका छन् ।

थापा भने पोखराको बजारमा फोर्स मोटर्सका गाडी बेच्छन् । उनी हिमालय अर्गनाइजेशन फोर्स मोटरको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका मालिक हुन् ।


प्रतिक्रिया दिनुहोस्