फागुन ३० देखि सूर्याेदय वोमी लघुवित्तकाे नामबाट एकीकृत कारोबार हुने, सीईओ पंगेनी र अध्यक्ष विन्दिया बन्ने « Arthapath.com
३० पुष २०७८, शुक्रबार

फागुन ३० देखि सूर्याेदय वोमी लघुवित्तकाे नामबाट एकीकृत कारोबार हुने, सीईओ पंगेनी र अध्यक्ष विन्दिया बन्ने



काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्याेदय लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्वन्धि अन्तिम सम्झौता भएको छ । वोमी लघुवित्त र सुर्योदय लघुवित्त एक आपसमा गाभ्ने–गाभिने प्रयोजनको लागि पौष २९ गते बिहीबार अन्तिम सम्झौता भएको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ बमोजिम गाभ्न–गाभिनका लागि बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको वोमी संस्थाले एक सूचना मार्फत जानकारी दिएको छ ।

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते, मंगलबार गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । राष्ट्र बैंकले कार्तिक १ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

मर्जरपश्चात सूर्याेदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता भएको छ । दुवै संस्था १ः१ स्वाप रेशियोमा मर्ज हुन लागेका हुन् । वोमी लघुवित्तको १०० कित्ता शेयर बराबर सूर्याेदय लघुवित्तको १०० कित्ता शेयर आदान प्रदान अनुपात कायम गरिएको हो ।

मर्जरपछि सूर्याेदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हाल सूर्याेदय लघुवित्तका सीईओ रहेका मोक्ष प्रसाद पंगेनी बन्नेछन् भने अध्यक्षमा विन्दिया श्रेष्ठ प्रधान बन्ने सहमति भएको छ । वोमी लघुवित्तका सीईओ प्रमेश आचार्य नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् ।

फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने गरी राष्ट्र बैंकलाई कार्ययोजना पेश गरेको वोमी लघुवित्त वित्तीय संस्थाका सीईओ प्रमेश आचार्यले जानकारी दिए ।

मर्जरपश्चात सूर्याेदय वोमी लघुवित्तको चुक्ता पूँजी ७९ करोड १९ लाख रुपैयाँ, निक्षेप ४ अर्ब रुपैयाँ, ११ अर्ब रुपैयाँ कर्जा र ग्राहक संख्या १ लाख ७५ हजार पुग्नेछन् ।

यता मर्जर पश्चात बन्ने सूर्याेदय वोमी लघुवित्तमा कर्मचारी संख्या १ हजार भन्दा धेरै हुनेछन् भने शाखा १९१ वाट पुग्ने छन् ।


प्रतिक्रिया दिनुहोस्