वर्ष दिनमा पनि आउँदैन नतिजा « Arthapath.com
१७ माघ २०७८, सोमबार

वर्ष दिनमा पनि आउँदैन नतिजा



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ ।तर, अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम विद्यार्थीले भोगिरहेका छन् । यस्तो ढिलाइले विद्यार्थीमा मानसिक असर पर्ने गरेको छ ।

स्नातक तह दोस्रो वर्षको केही विषयको परीक्षा गत फागुनमा सञ्चालन भइरहँदा कोरोना सङ्क्रमण फैलिएपछि भदौमा सकिएको थियो । अहिले तेस्रो वर्षको परीक्षासमेत फागुनको पहिलो साता सार्वजनिक गर्न पनिकाले तालिका सार्वजनिक गरिसकेको छ तर अघिल्लो वर्षकै नतिजा नआउँदा आफूहरूलाई तनाव भएको विद्यार्थीको गुनासो छ ।

स्नातक तह पहिलो वर्षका परीक्षार्थीको पनि फागुनको पहिलो साताबाटै परीक्षाको मिति तय गरिएको छ तर अघिल्लो वर्षको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन । रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत मन्जिता लोहनीले भन्नुभयो, “हामीले पोहोर दिएको परीक्षाको नतिजा अझै सार्वजनिक भएको छैन । अर्को परीक्षा आउन लागिसक्यो । हामी अनुत्तीर्ण भयौँ भने कहिले फाराम भरेर कहिले परीक्षा दिने ?”

परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा सार्वजनिक गर्न जनशक्ति अभाव रहेकाले नतिजा सार्वजनिक गर्न ढिलो भएको बताउनुभयो । कार्यालयमा हाल रहेका कर्मचारीमध्ये सबै कर्मचारी सूचना प्रविधिमा अभ्यस्त नहुँदा झन् समस्या हुने गरेको त्रिविले बताउँदै आएको छ ।

जोशीका अनुसार परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा कुनै बेला २२४ जना कर्मचारी कार्यरत थिए । विभिन्न शाखा मर्ज गरेर उक्त कर्मचारी दरबन्दी १८० जनामा झारिएको छ । तीमध्ये पनि अहिले १४१ जना मात्रै कार्यरत छन् । परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको काम व्यवस्थित बनाउन अझै ४० जना कर्मचारी चाहिने नियन्त्रक जोशीले बताउनुभयो । परीक्षा र नतिजा प्रकाशनका काममा मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा धेरै समस्या रहेको पनिकाले जनाएको छ । पनिकालाई परीक्षा र नतिजा ढिलो गर्ने आरोप मात्रै लाग्ने गरेको तर जनशक्ति व्यवस्थापनका काममा भने चासो नदिएको जोशीले गुनासो गर्नुभयो ।

प्राध्यापकबाट उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण ढिलो हुँदा पनि नतिजा प्रभावित हुने गरेको छ । पनिकाकै गोप्य शाखाका एक कर्मचारीका अनुसार कुनै विषयमा प्राध्यापकले सम्परीक्षण गर्न लगेको उत्तरपुस्तिका तीन महिनासम्म पनि फिर्ता नगर्ने प्रवृत्ति छ । यस्तो समस्या व्यवस्थापन सङ्कायअन्तर्गतका विषयमा धेरै छ । समयमै परीक्षा र नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरू निजामती तथा सङ्गठित संस्थाले आह्वान गर्ने कर्मचारी भर्नासम्बन्धी परीक्षामा सहभागी हुनबाट पनि वञ्चित हुने गरेका छन् ।

विश्वविद्यालयमा नतिजा प्रकाशन ढिलो हुने गरेको गुनासो आएपछि हालै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पनिकाको अनुगमन गर्नुभएको थियो । अनुगमनको क्रममा उहाँले जसरी भए पनि समयमै नतिजा प्रकाशन गर्न परीक्षा नियन्त्रकलाई निर्देशन दिनुभयो । जनशक्ति अभावको समस्या समाधान गर्न उहाँले पनिकाबाटै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटालाई टेलिफोन गरेर निर्देशन दिनुभएको थियो ।गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस्