स्थायी शिक्षकका लागि झन्डै २ लाख ३७ हजारको आवेदन « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

स्थायी शिक्षकका लागि झन्डै २ लाख ३७ हजारको आवेदन



काठमाडौं । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ । योसँगै आजबाट शिक्षक सेवा आयोगको सबै विज्ञापनको फाराम भर्ने म्याद सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताउनुभयो ।

उहाँका अनुसार बिहीबारसम्म २ लाख ३६ हजार ३ सय ४७ जनाले फारम भरेका छन् र अझै करिब ७ सयको आवेदन पर्न सक्ने आँकलन गरिएको छ । सूचना अधिकारी मरहठ्ठाका अनुसार हालसम्म माध्यमिक विद्यालय तहमा १ हजार ५ सय ५२ जनाका लागि ३५ हजार ५ सय ४५ र निम्न माध्यमिक विद्यालय तहको १ हजार ६ सय ६ जनाका लागि ८५ हजार ६ सय ३३ जनाले आवेदन फारम भरेका छन् ।

प्राथमिक विद्यालय तहमा १३ हजार २ सय ९७ जनाको माग भएकोमा हिजो बिहीबारसम्म १ लाख १५ हजार १ सय ६९ जनाले आवेदन दिएका छन् । सबै तथ्यांक संकलन गर्दा तीन तहको परीक्षामा करिब २ लाख ३७ हजार जनाको आवेदन पर्ने अनुमान गरिएको मरहठ्ठाले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

आयोगले यसपटकबाट परीक्षणका रूपमा अनलाइन माध्यमबाट मावि तहको आवेदन लिएको कारण भीडभाड कम भएको थियो । आयोग मावि तहको परीक्षा चैत १५ मा गर्ने तय गरिसकेको छ । त्यसै गरी निमाविको चैत १७ र प्राविको चैत १९ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको छ । त्यस्तै खुला बढुवातर्फ २१ चैतमा परीक्षा गर्ने निर्णय गरेको छ । सूचना अधिकारी मरहठ्ठाले परीक्षाको विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘हामीले मिति तय गरिसकेका छौं । परीक्षाको प्रणालीको बारेमा आयोगका अधिकारीले छलफल जारी राखेका छन् ।’

यो वर्ष माध्यमिक र निम्न माध्यमिक तहभन्दा प्राथमिक तहका आवेदक बढी छन् । निमाविको तुलनामा प्रावि तहमा झन्डै १६ हजार बढीले आवेदन फारम भरेका छन् । राज्यले हाल माध्यमिक र आधारभूत तह गरी दुई तहको शिक्षा निर्धारण गरिसके पनि आयोगले अझै पुरानै तीन तहमा विज्ञापन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन तहका शिक्षकको संख्या तोकेर पठाएपछि सोही आधारमा विज्ञापन गरेको आयोगको भनाइ छ । आयोगले स्थायीबाहेकमा २०३८ साल पुस २९ गतेभन्दा यता जन्मिएकाले मात्र आवेदन दिन पाउने व्यवस्था उल्लेख गरेको थियो । आयोगले परीक्षामा बढी शिक्षक उत्तीर्ण गर्ने अभिप्रायले सबै तहका नमुना प्रश्नपत्र सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले लोकसेवा आयोगको जस्तै शिक्षक सेवा आयोगको नमुना प्रश्न तयार गरेको हो ।

परीक्षाका लागि शिक्षक सेवा आयोगले आचारसंहिता २०७८ जारी गरेको छ । आफ्नो काम कारबाहीलाई चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आचारसंहिता जारी गरेको आयोगले माघ १३ गते सो आचारसंहिता स्वीकृत गरी लागू गरेको हो । आयोगले प्रचलित कानुनबमोजिम आफ्नो कार्य सम्पादन गर्ने सिलसिलामा सुशासनको मूल्यमान्यता र संगठनको आदर्शअनुरूप स्वतन्त्र, निष्पक्ष एवं वस्तुनिष्ठ बनाउन आचारसंहिता लागू गरेको जनाएको छ ।

सो आचारसंहिता आयोगका पदाधिकारी, विज्ञ, आयोगको कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, आयोगबाट अधिकार पाएका अन्य निकायका पदाधिकारी वा कर्मचारी र आयोगले लिने खुला तथा आन्तरिक प्रतियोगिताको परीक्षामा खटिने कर्मचारीलाई लागू हुने सूचना अधिकारी मरहठ्ठाले जानकारी दिनुभयो ।आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्