भारी हिमपातले भीमदत्त,कर्णाली र मकवानपुर राजमार्ग अवरुद्ध, दजनौँ सवारीसाधन रोकिए « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

भारी हिमपातले भीमदत्त,कर्णाली र मकवानपुर राजमार्ग अवरुद्ध, दजनौँ सवारीसाधन रोकिए



काठमाडौं । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको जनविजन प्रभावित भएको छ । विहिबार बेलुकादेखि भईरहेको भारी हिमपातले पहाडका सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

बाक्लो हिमपातका कारण सयौ सवारी राजमार्गमै रोकिएका छन् । इलाका प्रहरी कार्यालय बुडरका अनुसार राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको छ।

अहिले दजनौँ सवारीसाधन तथा यात्रु गैरा तथा बुडर, खानीडाँडा, स्याउखर्क, भात्काँडा लगायतका बजारमा रोकिएका छन् । राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ ।

त्यस्तै, वर्षाका कारण कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्गको कालिकोट खण्ड अन्तर्गत खडाचक्र नगरपालिमा–२ हुम्लामा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आउँदा राजमार्ग अवरुद्ध बनेको हो।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र सिंह खड्काका अनुसार पहिरो गएराति १० बजेतिर आएको हो। उनका अनुसार राजमार्ग खुलाउनका लागि उक्त स्थानमा प्रहरी टोली खटाइएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा कठिनाई भईरहेको छ ।

यस्तै हिमपातका कारण मुगु छायाँनाथ रारा नगरपालिका वडा–६ र ७ मा पर्ने जुम्ला–मुगु सडक खण्ड अवरुद्ध बनेको छ । नगरपालिकाको पिना सातमोड एरियामा २ फिट हिउँ परी बाटो अवरोध भएको प्रहरीको भनाई छ। बाटो खलाउनका लागि चारजना प्रहरीको टोली खटाइएको छ ।

यता, उत्तरी क्षेत्र मकवानपुरको दामन र सिम्भञ्ज्याङ हिउँले सेताम्मे भएको छ । मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको दामन–सिम्भञ्ज्याङ क्षेत्रमा शुक्रबार बिहानै देखि बाक्लो मात्रामा हिउँ परेपछि सेताम्मे देखिएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट ७० किलोमिटर उत्तर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दक्षिणमा अवस्थित दामन–सिम्भञ्ज्याङ क्षेत्रमा करिव एक फुट सम्म हिउँ जमेको स्थानीयहरु बताउँछन् । दुई हजार ४ सय ८८ मिटर उँचाइ रहेको सिम्भञ्ज्याङ मकवानपुरकै सबैभन्दा अग्लो क्षेत्र हो ।


प्रतिक्रिया दिनुहोस्