मिति सकिन लाग्दा सुक्खा बन्दरगाह निर्माणको काम २० प्रतिशत « Arthapath.com
२२ माघ २०७८, शनिबार

मिति सकिन लाग्दा सुक्खा बन्दरगाह निर्माणको काम २० प्रतिशत



रसुवा । रसुवा जिल्लाको टिमुरेमा बन्न लागेको सुक्खा बन्दरगाह मिति सकिनै लाग्दा २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।बन्दरगाह निर्माण सुरु भएको दुई वर्ष भइसकेको छ । सम्झौताअनुसार हो भने आगामी तीन महिनाभित्रै यो बन्दरगाह बनिसक्नेछ । २० नोभेम्बर २०१९ मा बन्दरगाह निर्माणका लागि शिलान्यास गरी औपचारिक रूपमा काम सुरु गरिएको थियो ।

बन्दरगाह निर्माणको जिम्मा चीनको तिब्बतस्थित टिबेट फुली कन्स्ट्रक्सन ग्रुप लिमिटेडले पाएको थियो । ३० महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको छ । टिबेट फुली कन्स्ट्रक्सन ग्रुप लिमिटेडका म्यानेजर याङ इलीका अनुसार अहिले खोलाको किनारमा मेसिनरी वाल लगाउने काम भइरहेको छ । खोला किनारको ६ सय ६० मिटर लम्बाइमा वाल लगाइनेछ । हालसम्म दुई सय १० मिटरमा वाल लगाइएको छ । खोलाबाट १३ मिटर उचाइको वाल लगाइनेछ । ‘वर्षात्को समयमा असहज हुने स्थानमा अहिले वाल लगाउने काम भइरहेको छ,’ उनले भने, ‘वर्षात्को समयमा सहज हुने ठाउँमा पछि गर्छौँ ।’ वर्षात्अघि खोला किनारमा वाल लगाउने काम सम्पन्न गर्ने योजना रहेको उनले बताए । संरचना निर्माण आगामी वर्षदेखि सुरु गरिने उनले बताए । चीनबाट कामदार आउन नसक्दा कामले गति लिन नसकेको उनले बताए । निर्माणस्थलमा अहिले ३५ जना नेपाली र १५ जना चिनियाँ कामदार कार्यरत छन् । १० जना चिनियाँ दक्ष कामदार आउन नसक्दा निर्माणस्थलमा कामले गति लिन नसकेको हो । ‘चीनबाट कामदार आउन सकेका छैनन्, सीपयुक्त दक्ष कामदार अभाव छ, त्यसैले अहिले नेपाली कामदार थप गरी कामलाई तीव्रता दिइरहेका छौँ,’ उनले भने ।

सन् २०१९ को नोभेम्बरबाट काम सुरु गरी ३० महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि कोरोना महामारी, चिनियाँ कामदार चीनबाट निर्माणस्थलमा आउन नसक्नुलगायतका कारण कामले गति लिन नसकेको जनाइएको छ । अबको १८ महिनाभित्रमा बन्दरगाह निर्माणको काम सम्पन्न गर्ने योजनामा आफू रहेको टिबेत फुली कन्स्ट्रक्सन ग्रुपका म्यानेजर याङ इलीले बताए । नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । करिब १२ करोड ४० लाख चिनियाँ युआनको लागतमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । चीन सरकारको आर्थिक सहयोगमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बन्दरगाह निर्माण हुने बताइएको छ । ८ दशमलव ५ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा एउटा मुख्य भवन रहने भएको छ ।

त्यसमा प्रशासनिक कार्यका लागि भन्सार, क्वारेन्टिन, बैंक, ल्याब, सुरक्षालगायत कार्यालय रहने रसुवागढी भन्सार कार्यालय टिमुरेले बताएको छ । तीन सय १५ भन्दा बढी ट्रक तथा कन्टेनर राख्न सकिने गरी पार्किङस्थल निर्माण हुनेछ । त्यसैगरी, सात सय ५० वर्गमिटरको क्षेत्रफलमा गोदामघर निर्माण हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्