हालसम्मकै उच्च लाभांश वितरण गर्दै नागरिक लगानी कोष


काठमाडौं । नागरिक लगानी कोषले अघिल्लो आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयर धनीलाई ३० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । त्यस्तै, कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कोषको आज (सोमबार) हुन गै रहेको साधारण सभामा लाभांश प्रस्ताव गरिदैछ । साधारण सभाले पारित गरेपछि कोषलाई लाभांश वितरण गर्ने बाटो खुल्नेछ ।
विगत ६ बर्षको अवधिमा कोषले यो बर्ष उच्च लाभांश वितरण गर्न लागेको हो । आव २०७६/७७ मा कोषले जम्मा ९ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । यस अघिका चार आर्थिक बर्षमा भने कोषले २२ प्रतिशत बोनश शेयर वितरण गर्न सफल भएको थियो ।
अहिले कोषको चुक्ता पुँजी चार अर्ब २५ करोड रुपैयाँ पुगेको छ । कोषले नेपालको शेयर मार्केटलाई व्यवस्थित गर्न नागरिक स्टक डिलरको पनि स्थापना गरेको छ । यसमा कोषको ५१ प्रतिशत लगानी रहेको कोषका कार्यकारी निर्देशक रमण नेपालले बताए ।
७७ करोड ६८ लाख खुद नाफा आर्जन
कोषले आव २०७७/७८ मा ७७ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आव २०७६/७७ मा ६१ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको कोषको तथ्यांक छ । आव २०७५/७६ मा ४६ करोड २२ लाख, आव २०७४/७५ मा ३५ करोड ९२ लाख, आव २०७३/७४ मा २९ करोड २३ लाख र २०७२/७३ मा २३ करोड ७२ लाख रुपैया आर्जन गरेको छ ।
कोषले विभिन्न खालका योजनाहरु सञ्चालन गरेको छ । जसमध्ये कर्मचारी बचत वृद्धि अवकास कोष योजनामा ७१.८० प्रतिशत रकम परिचालन भएको छ । नागरिक पेन्सन योजनामा १६.७९ प्रतिशत, लगानीकर्ता हिसाब योजनामा ४.४ प्रतिशत, नागरिक एकांक योजनामा १.२० प्रतिशत, बीमा कोष योजनामा ५.७९ प्रतिशत र उपदान कोषमा ०.० २ प्रतिशत रकम परिचालन भएको छ ।