ड्रिजल कप क्रिकेटका ६ खेल सम्पन्न, को को पुगे क्वाटर फाइनल ?

काठमाण्डौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा हिजो (शनिवार) बाट सुरु भई शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिताका ६ खेलहरु सम्पन्न भएका छन । मिनभवन स्थित इपीएस स्कुलको प्राङगणमा शनिवार भएको उद्घाटन खेलमा अक्षरा ए ले इपीएसलाई ७ विकेटले पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा अक्षरा बी ले शिक्षान्तरलाई ५ विकेटले पराजित गर्यो ।
तेस्रो खेलमा अक्षरा ए ले न्यू इरालाई २७ रनले पराजित गर्दा चौथो खेलमा नाइटिङेलले अक्षरा बी लाई ३४ रनले पराजित गर्यो । त्यस्तै शनिवारनै भएको पाचौं खेलमा न्यू इराले आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्दै इपीएसलाई ४ विकेटले पराजित गर्दा छैठौं खेलमा नाइटिङेलले शिक्षान्तरलाई १०० रनले पराजित गर्यो ।
शनिवारको खेलमा जितसँगै समुह सी बाट अक्षरा ए र न्यू इरा तथा समुह डी बाट अक्षरा बी र नाइटिङेलले क्वाटर फाइनलमा स्थान बनाएको छ । प्रतियोगिता अन्तर्गत मंगलवार समुह ए र बी का खेलहरु हुनेछन ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयहरुले सहभागिता जनाएका छन । प्रतियोगिताको उपाधि विजेताले १४ हजार ५ सय रुपैयाँ र उप विजेताले ८ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ३ हजार ५ सय रुपैयाँ, उत्कृष्ट बलर र ब्याटस्म्यानले समान २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन । हरेक खेलका उत्कृष्ट खेलाडीलाई ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।