सचिवहरुलाई अर्थमन्त्रीको निर्देशनः इन्सेन्टिभ तुरुन्त पाउने कार्यविधि बनाउनुस्

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफलमा अर्थ सचिव र राजस्व सचिवलाई अर्थमन्त्री जनार्दन शर्माले कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन्।
‘मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु’, उनले भने, ‘सरल र सहज रूपमा प्राप्त गर्ने (इन्सेन्टिभ) कार्यविधि चाहियो । त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन सजिलैसित पाउने बनाउनुपर्छ । उसको पैसा आएको भोलिपल्ट पाउने खाल्को बनाउनुपर्छ ।’ उनले मूल्य अभिवृद्धिकै आधारमा इन्सेन्टिभको व्यवस्था गरिने पनि बताए । ‘एक प्रतिशत भ्यालू एडिसनलाई पनि त्यही र अर्कोलाई पनि त्यही हुन सक्दैन’, उनले भने, ‘त्यो भ्यालू एडिसनकै आधारमा गर्नुपर्छ ।’
मन्त्री शर्माले निजी क्षेत्र सरकारको एक साझेदार नै भएकाले समस्याहरूको समाधान गर्ने उपायको खोजी जसरी पनि गरिने बताए।अन्तरक्रियामा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा व्यवस्था गरिएको ‘इन्सेन्टिभ’ले उद्योगी तथा व्यवसायीलाई उत्साहित गरेको बताए।उनले जुत्ता, छड तथा सिमेन्ट क्षेत्रकै निर्यात क्षमता करिब ३ खर्बको रहेको भन्दै त्यसको ५० प्रतिशत मात्र निर्यात गर्न सके पनि मुलुकको व्यापार घाटा धेरै हदसम्म न्यूनिकरण गर्न सकिने बताए ।साथै भारतमा जुन मूल्यमा बिजुली नियार्त भइरहेको छ छ सोही मूल्य बराबरमा मुलुकका उद्योगहरूले बिजुली पाएमा उत्पादन लागत घटाउन मद्दत पुग्ने बताउदै । सोही मूल्यमा मुलुकभित्रका उद्योगहरूलाई बिजुली उपलब्ध गराउन पनि माग गरे ।