यी हुन् ईभी एक्स्पोमा प्रदर्शन हुने इलेक्ट्रिक कारहरु : कुनको कति पर्छ मूल्य ? (फिचर्ससहित) « Arthapath.com
५ आश्विन २०७९, बुधबार

आजदेखी नाडा ईभी अटाे साे

यी हुन् ईभी एक्स्पोमा प्रदर्शन हुने इलेक्ट्रिक कारहरु : कुनको कति पर्छ मूल्य ? (फिचर्ससहित)




काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सवारीको भव्य प्रदशनी हुँदैछ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्न लागेको हो ।

नाडाले भोलि अर्थात असोज ६ गतेदेखि ९ गते चार दिनसम्म इभि एक्स्पो गर्न लागेको छ । उक्त इभी एक्स्पोमा विद्युतीय सवारी साधन, पार्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी हुन लागेको छ ।

विश्वभर नै विद्युतीय सवारीमा बढ्दो आकर्षण र मान्छेहरुको इभिप्रतिको अभिरुचि अनुसार पनि उक्त एक्स्पो आयोजना गरिएको नाडा अटोमोबाइल्स एशोसियसनका अध्यक्ष धुव बहादुर थापाले बताए ।

एक्स्पोमा ७ वटा ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पांग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी को सहभागिता रहेको इभी एक्स्पो समितिका संयोजक एवं नाडा सचिव अनुप कुमार बरालले जानकारी दिए । चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजक टिमको प्रक्षेपण रहेको छ ।

यी हुन् प्रदर्शनी रहने चार पाङ्ग्रे विद्युतीय सवारीहरु

१. टाटा मोटर्स : ‘नाडा इभि एक्स्पो २०२२’ मा टाटा मोटर्सका दुई इलेक्ट्रिक गाडी प्रदर्शनीमा रहनेछन् । टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले टाटा नेक्सन इभी र टिगोर इभी प्रदर्शनीमा राख्नेछ ।

* टाटा नेक्सन ईभी

नेपालमा यो एकदमै लोकप्रिय इभी हो । टाटा नेक्सन ईभी ३ वटा मोडेल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध छ । यी तीनै वटा इभीको मूल्य क्रमशः ३६ लाख ९९ हजार, ३८ लाख ९९ हजार र ४० लख ९९ रुपैयाँ रहेको छ ।

टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडित छ । नेक्सन–ईभीमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ । यो एकपटकको फुल चार्जमा ३ सय किलोमिटरसम्मको माइलेज दिने कम्पनीले जनाएको छ । सिग्नेचर टिल ब्लु, ग्लेसियर ह्वाइट र मुनलिट सिल्भर गरी ३ कलरमा तीनवटै भेरिएन्टमा उपलब्ध रहेको छ । नेक्सन–ईभी अत्याधुनिक जिपट्रोन प्रविधिमा आधारित भई आकर्षक र सुरक्षित फिचर्समा निर्माण गरिएको छ ।

* टाटा टिगोर इभी

टिगोर इभी ३ भेरियन्टमा उपलब्ध रहेको छ । यसमा एक्सई, एक्स एम र एक्सजेड प्लस रहेका छन्। जसको मूल्य क्रमशः २९ लाख ९९ हजार, ३१ लाख ३९ हजार, ३२ लाख ९९ हजार रुपैयाँ पर्दछ । यस गाडीमा २६ किलोवाट आवरको ब्याट्री रहेको छ । जुन फुल चार्ज हुँदा ३०६ किलोमिटरसम्मको माइलेज प्रदान गर्दछ । ब्याट्री फुल चार्ज गर्न घरमै १५ एम्पिएरको पावरमा ८ घण्टा लाग्नेछ । तर, फास्ट चार्जिङ्गको पनि सुविधा भएकाले जिरोबाट ८० प्रतिशतसम्म ६० देखि ८० मिनेटमै चार्ज हुनेछ । टिगोर इभीमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । ५५ किलोवाट क्षमताको मोटर रहेको छ ।

२. हुन्डाई इभी : ‘नाडा इभि एक्स्पो २०२२’ मा हुन्डाई नेपालले आफ्नो दुई विद्युतीय सवारी टाटा मोटर्सका दुई इलेक्ट्रिक गाडी प्रदर्शनीमा रहनेछन् । हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि रहेको छ ।

* हुन्डाई कोना इभी

कोना इभी दुई ब्याट्री प्याकमा उपलब्ध रहेको छ । जसमा ३९.२ किलोवाट आवरको व्याट्री र १०० किलोवाट क्षमताको मोटर भएको एक र ६४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाट क्षमताको मोर रहेको अर्को भेरियन्टगरि दुई भेरियन्ट उपलब्ध रहेको छ । यी गाडीको व्याट्रीलाई डिसी फास्ट चार्जरबाट चार्जगर्दा ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले छ । सिंगल चार्जमा सानो ब्याट्रीले ३०० किलोमिटर र ६४ किलोवाटको ब्याट्रीले ४८० किलोमिटरसम्म रेञ्ज प्रदान गर्नेछ । सुरक्षाको हिसावले अत्यन्त सुरक्षीत रहेको यस गाडीमा ६ वटा एयरब्याग, अटो होल्ड, प्याडल सिफ्टर, क्रुज कन्ट्रोल, लेन सेन्ट्रिङ सिस्टम, रियर क्रस–ट्राफिक अलर्ट, हिल असिस्ट कन्ट्रोल तथा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टमजस्ता अत्याधुनिक फिचरहरु रहेका छन् । हुन्डाईको कोना इभी जीएल भेरियन्टको ६० लाख ५६ हजार र इभी जीएलएसको ६२ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

* हुन्डाई आयोनिक

हुन्डाईको प्रिमियम इलेक्ट्रीक सेडान आयोनिक ३८.३ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा १०० किलोवाट क्षमताको मोटर छ । यसलाई एक पटकको फुल चार्जमा २७४ किलोमिटर चलाउन सकिने छ । यसमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । वायरलेस फोन चार्जिङ, डिउल जोन क्लाइमेट कन्ट्रोल, प्रिमियम सिट, भ्यान्टीलेटेड, हिटेड र इलेक्ट्रीकल्ली एड्जस्टेवल सिट, सबैतिर पार्किङ सेन्सर जस्ता फिचर यसमा उपलब्ध रहेको छ । यो गाडीको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

३. टेस्ला

टेस्ला गाडीको बिक्रेता अरेटी इन्टरनेशनल तीन वटा मोडल प्रदर्शनीमा राखिने भएको छ । नेपालमा टेस्ला सवारी तीन मोडलमा उपलब्ध छ ।टेस्ला गाडीको बिक्रेता अरेटी इन्टरनेशनल तीन वटा मोडल प्रर्दशनी राख्ने भएको हो । टेस्लाको मोडल–३, मोडल एक्स र मोडल वाई नेपालमा उपलब्ध रहेका छन्। टेस्लाको मूल्य विभिन्न मोडेल अनुसार १ करोड १५ लाख रुपैयाँदेखि २ करोड ८५ लाख रुपैयाँसम्म पर्दछ ।

४. नेटा भी :

भोलिदेखि सुरु हुने इभी एक्स्पो २०२२ मा नेटा भी पनि प्रदर्शनीमा राखिने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले यसको बिक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ छ । यो कारले एक पटकको फुल चार्जमा ३८० भन्दा माथिको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यो ३८.५४ किलोवाट प्रति घण्टा ब्याट्री र १६० एनएम टर्क उत्पादन गर्दछ । यसको उच्च गति १०१ किलोमिटर प्रति घण्टा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले ब्याट्री, मोटर र पावर इलेक्ट्रोनिक्समा ८ बर्ष वा एक लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी प्रदान गरेको छ । त्यस्तै अन्य संरचनामा भने १० वर्ष वा एक लाख ५० हजार किलोमिटरसम्म वारेन्टी तोकिएको छ ।

चङगन :

‘नाडा इभि एक्स्पो २०२२’ मा चङगन कार पनि प्रदर्शनीमा रहने छ । नेपालमा भने पहिलो पटक सार्वजनिक हुन लागेको हो ।
सीजी केवाईसी (चङगन) चिनियाँ ब्रान्डको नयाँ कार हो । यो नेपाली बजारमा ४२ लाख रुपैयाँ मूल्य तोकिएको छ ।यो कार सन २०२१ मा विश्वको ६० देशमा बिक्री भएको थियो ।

बीवाईडी :

‘नाडा इभि एक्स्पो २०२२’ मा बीवाईडी कार पनि प्रदर्शनीमा रहने छ । उयो नेपाली बजारमा पाइने विभिन्न विद्युतीय सवारीको ब्रान्डमध्ये एक हो । यो ड्रागन फेस डिजाइनमा निर्माण गरिएको छ । यो कारमा ब्लेड ब्याट्री उपलब्ध छ । ३२० किलोमिटरसम्मको स्ट्यान्डर्ड रेन्ज दिने यस कारले १६० किलोमिटर प्रति घण्टाको उच्च गतिमा गुड्न सक्ने कम्पनीले जनाएको छ । नेपालमा बिवाईडीको मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्