ब्याजदर बृद्धिले उद्यमी, व्यवसायी मर्कामा परेका छन्ः चेम्बर अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् ।
उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पुर्ण उद्योगी व्यवसायी मर्कामा परेको बताएका छन् ।
कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन युद्धले थप प्रभावित बनाएको अध्यक्ष मल्लले बताए ।
हाल विद्यमान स्प्रेड दरलाई ४ दशमलव ४ प्रतिशतबाट १ प्रतिशत घटाउने एवं बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरि कर्जाको आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा व्याजदर घट्ने अध्यक्ष मल्लले बताए ।
स्थानीय प्रदेश तथा संघीय सरकार अन्तर्गतका निकायहरुको खातामा रहेको पुँजीगत खर्च हुन नसकेमा सो रकमको ९० देखि ९५ प्रतिशत रकमलाई वाणिज्य बैंकमार्फत कर्जा प्रवाह गर्ने व्यवस्था भए यसले तरलतामा वृद्धि हुने बताए ।













