किन मनाईन्छ कुकुर तिहार ? यस्तो छ धार्मिक परम्परा
काठमाडौं । आज तिहारको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको छ ।
यमपञ्चकको पहिलो दिन काग तिहार र दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ ।
तर यस वर्ष कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको हो । कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ ।
त्यसैले यस दिन विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ । कुकुर तिहारको दिन कुकुरलाई पूजा गरेर माला लगाइदिने चलन रहेको छ । त्यसपछि कुकुरलाई मन पर्ने खानेकुरा खान दिइन्छ ।
विशेषगरी यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजा गरिन्छ ।
हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ । कुकुर तिहारको दिनमा कुकुरलाई पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ ।
कुकुर तिहारको दिन मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्धको अर्चना गरिन्छ । हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ।
मृत्यूपर्यन्त पनि मोक्षकोद्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।
ऋगवेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको, अर्को पौराणिक प्रसङ्गमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको भन्ने प्रचलन रहेको हुदा कुकुर पुजा गर्ने गरिन्छ ।
यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपको रुपमा वर्णन गरिएको छ ।
मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बँचाउने गर्छ । कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ ।
कुकुर तिहारको दिनमा कुकुरलाई पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ । कुकुर तिहारको दिन मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्धको अर्चना गरिन्छ ।












