जसपाको ईच्छामा प्रचण्डको त्यागः उपराष्ट्रपतिको मौका छोप्दै संसद् छिर्ने उपेन्द्रको दाउ « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

जसपाको ईच्छामा प्रचण्डको त्यागः उपराष्ट्रपतिको मौका छोप्दै संसद् छिर्ने उपेन्द्रको दाउ



काठमाडौँ । राष्ट्रपति उम्मेदवारको टुंगो लागेसँगै उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले उपराष्ट्रपति पाउने सहमति भइसकेको छ । यो अवस्थामा गएको मंसिरमा चुनाव हारेका जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट आफूलाई हजस हुने पात्रलाई उपराष्ट्रपतिमा पठाउनुका साथै आफ्नो गुमेको सांसद पदसमेत सुरक्षित गर्ने रणनितिमा लागिपरेका छन् ।

अहिले निर्वाचन जितेर आएका सांसद्लाई नै राजिनामा गराएर उपराष्ट्रपतिमा पठाउने र त्यहाँ उपनिर्वाचन गरी संसद् छिर्ने उपयुक्त बाटो खोजिरहेको विश्वस्त स्रोतले अर्थपथसँग खुलासा गरेको छ । हिजो शुक्रवार नै काँग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने आठ दलीय गठबन्धनमासहमति भएको थियो ।

जसअनुसार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् । यस्तै उपराष्ट्रपति जसपामा कसलाई उम्मेदवार बनाउने भनेर आन्तरिक छलफल सुरु हुनुका साथै त्यसका लागि नेताहरुले लबिङ समेत थालिसकेका छन् । सांसदलाई उपराष्ट्रपतिको अवसरसँगै यसअघि पराजित भएर पनि आफूसमेत सांसद हुन पाइने भएपछि यादवको अवसरका लागि अनुकुल हुने सम्भावित र सहज उम्मेदवारबारे जसपाभित्र छलफल सुरु भएको छ ।

उपराष्ट्रपतिको उम्मेदवारमा जसपाबाट पहिलो नम्बरमा रामसहाय यादवको नाम चर्चामा आएको छ । यस्तै दोस्रो नम्बरमा नवलकिशोर साहको नाम चर्चामा छ । पार्टीबाहेकका व्यक्तिहरुले पनि चासो लिइरहेका छन् । तर सांसदमध्ये नै एकजना कसैलाई राजीनामा दिन लगाएर उपराष्ट्रपति बनाउने तयारी जसपाको रहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव हारेको र उपनिर्वाचनमार्फत संसद छिर्न सोहीअनुसार सांसदलाई उपराष्ट्रपति बनाउने र सो ठाउँमा उपनिर्वाचन हुँदा उम्मेदवार बनेर फेरि संसद छिर्ने यादवको रणनीति छ ।

यादवका लागि सबभन्दा सहज बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाउँदा हुने देखिन्छ । अरु क्षेत्रभन्दा यादवलाई बारा २ बाट चुनाव जित्न पनि सजिलो हुने र रामसहाय यादवलाई राजिनामा पनि गराउन सजिलो हुने भएकाले पार्टीमा त्यही विषयमा छलफल भइरहेको हो ।

यादवको ईच्छामा प्रचण्डको त्याग
सत्ता समिकरणको हिसाबले हिजो एमालेसँग गठबन्धन हुँदा र त्यसअघि काँग्रेससँगको समझदारीमा पनि उपराष्ट्रपति माओवादी केन्द्रले लिने पक्कापक्की नै थियो । राष्ट्रपति र सभामुख पद एमालेको भागमा परेपछि माओवादीले प्रधानमन्त्रीसहित उपराष्ट्रपति पाउने पक्का थियो । त्यसमै चित्त बुझाउनु पर्ने त्यतिबेलाको परिस्थिति थियो ।

त्यसबेला एमालेसहितको गठबन्धनमा पनि जसपाले उपराष्ट्रपतिलाई नै आफ्नो बटमलाइन बनाएको थियो भने यसपटक काँग्रेससँग फेरिएको सत्ता सहकार्यपछि पनि उसले यसैलाई प्रमुख मुद्धा अर्थात् बटमलाइन बनाएको थियो । जसपाका एक नेताले भने, ‘माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड पनि उपेन्द्र यादवलाई संसद्मा ल्याउन सकारात्मक देखिनु भएको छ ।’ प्रचण्डले यादवको सांसद बन्ने इच्छा पुरा गरिदिन एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कन्भिन्स गरिसकेको र यसमा नेपाल पनि सहमत भइसकेको बताइन्छ ।

आफ्नो पार्टीले पाउने स्वभाविक परिस्थिति र पक्कापक्की हुँदाहुँदै प्रचण्डले उपेन्द्रको संसद् छिर्ने चाहना पुरा गरिदिनकै लागि उपराष्ट्रपति पद त्याग गरिदिएको चर्चा यतिबेला राजनीतिक वृत्तमा चलिरहेको छ । तर, यादवलाई संसद्मा कसरी ल्याउने भन्ने विषयमा सार्वजनिक रुपमा भने कुनै टुङ्गो लागेको छैन । ‘तर, उपेन्द्र यादव संसद्मा जान इच्छुक देखिएको खण्डमा त्यसका लागि पक्कैपनि पहल हुनसक्छ, एक नेताले भने ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबीच एकीकरणको कुरा पनि चलिरहेको छ । पार्टी नै एकीकरणका लागि पहल भइरहेको कारण माओवादी केन्द्रले जसपालाई उपराष्ट्रपति पद दिए फरक नपर्ने बुझाईका कारण पनि प्रधानमन्त्री प्रचण्ड जसपाका लागि उदार भइदिएको जसपाका नेताहरू बताउँछन् ।

जसपामा सर्वसम्मतको तयारी
जसपाका कार्यकारिणी सदस्य समेत रहेका यादवले यसबारेमा अहिले औपचारिक छलफल नभए पनि पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने बताए । उनले भने, ‘उपराष्ट्रपतिमा उम्मेदवारी दिने विषयमा पार्टीमा अहिले कुनै छलफल भएको छैन , मलाई त्यसको बारेमा कुनै जानकारी पनि छैन ।’ उनले अगाडि भने, ‘उपराष्ट्रपतिको विषयमा छलफल हुन बाँकी छ । पार्टीले उपराष्ट्रपतिको विषयमा जे निर्णय गर्छ त्यो मलाई स्वीकार हुन्छ, पार्टीको निर्णयभन्दा बाहिर जान्नँ ।’

सो पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले उपराष्ट्रपति जसपाले पाउने निश्चित भएको बताए । तर पार्टीको तर्फबाट को उम्मेदवार बन्ने अहिले टुंगो नलागेको उनको भनाइ छ । ‘उपराष्ट्रपतिको उम्मेदवारबारे पार्टीमा विषय नै प्रवेश भएको छैन, राष्ट्रपतिको उम्मेदवारीपछि बस्ने पार्टीका बैठकबाट त्यसको बारेमा निर्णय हुन्छ’, उनले भने । फागुन २७ गते उपराष्ट्रपतिको उम्मेदवारी दिने समय तोकिएको छ । त्यसअघि नै उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनुपर्ने हुन्छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुनेछ ।

जसपाका अर्का कार्याकारिणी सदस्य रकम चेम्जोङले उपराष्ट्रपतिको विषयमा छलफल सुरु नभएपनि पार्टीले सर्वसम्मतिबाट यो विषयलाई टुग्यांउने बताए । पार्टीमा जसको नाममा सहमति बन्छ, उसैलाई सबैले स्वीकार गर्नुपर्ने उनले बताए ।

चुनाव हारेदेखि नै उपेन्द्रको बटमलाइन उपराष्ट्रपति
प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि कमजोर बनेका यादव पुनः शक्तिमा आउन सांसद बन्न चाहन्छन् । त्यसका लागि उनले उपराष्ट्रपतिमा आफ्नो निकटस्थ पात्र राम सहाय यादवलाई पठाएर उपनिर्वाचनमा आफू उम्मेदवार बन्न चाहेका छन् ।

रा २ बाट निर्वाचित यादवलाई उपेन्द्रले अशोक राई र राज किशोर यादवलाई पन्छाएर संसदीय दलको नेता बनाएका छन् । राम सहायलाई उपराष्ट्रपति बनाउन पाए सो क्षेत्रमा उपनिर्वाचनबाट आफू सांसद बन्न सकिने उनले देखेका छन् । गएको निर्वाचनमा बारा २ बाट एमालेको समर्थनमा रामसहायले १३ हजार ८२२ मत पाएर जितेका थिए भने तत्कालीन गठबन्धनका माओवादी उम्मेदवार शिवचन्द्र कुशवाहले १३ हजार ४६८ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत पाएका थिए । उपेन्द्रले राम सहायलाई उपराष्ट्रपति बनाउने सन्दर्भमा त्यतिबेला नै संविधानलाई गहिरोसँग समेत हेरिसकेको निकट नेताहरूले बताएका छन् ।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदाय जुन भए पनि हुने उल्लेख रहेकाले एमालेले पहाडे पुरुषलाई राष्ट्रपति उम्मेदवार बनाए पनि जसपाबाट मधेसी पुरुष उपराष्ट्रपति बन्न अवरोध हुने छैन । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निवाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख छ । सभामुख र उपसभामुख जस्तो फरक लिंगको प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी व्यवस्था राष्ट्रपति र उपराष्ट्रपतिको हकमा छैन । त्यसो त त्यतिबेला नै एमालेले उपेन्द्रलाई सप्तरी २ बाट चुनाव नलड्न सुझाएका थियो । अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलगायतका नेताले सप्तरी २ मा एमालेको संगठन बलियो नभएकाले चुनाव जिताउने जिम्मा लिन नसकिने बताएका थिए ।

एमाले महासचिव पोखरेलले भने–हामीले उपेन्द्रजीलाई सप्तरी २ मा चुनाव जिताउन एमालेले जिम्मा लिन सक्दैन,हाम्रो संगठन कमजोर छ भनेका थियौँ । उहाँलाई सप्तरीमै लड्ने हो भने एमालेको बलियो जनाधार भएको क्षेत्र नम्बर १ मा लड्न वा नत्र सुनसरी वा मोरङ भनेका थियौँ । सप्तरी १ मा एमाले जसपा गठबन्धनले सहज जित निकाल्यो । एमाले सप्तरी २ मा कमजोर छ भन्ने कुरा समानुपातिकमा उसले पाएको मतबाट पनि पुष्टि हुन्छ । एमालेले सो क्षेत्रबाट समानुपातिकमा जम्मा १२ सय ४५ मत पाएको छ जुन देशभरकै सबैभन्दा कम हो ।

सो क्षेत्रमा उपेन्द्र यादव सिके राउतसँग दोब्बर बढी मतान्तरले पराजित भए । यादवलाई बारा २ बाट चुनाव लड्न सिफारिस पनि गरिएको थियो । अब उनी उपराष्ट्रपतिमा राम सहायलाई पठाएर उपचुनावमार्फत संसद्मा छिर्न उनले केही नेताहरूसँग यसबारेमा परामर्श पनि गरेर तयारी अवस्थामा छन् । बारा २ मा समानुपातिक मतमा जसपा १३ हजार मतसहित पहिलो छ भने एमालेको पनि ९ हजारभन्दा बढी मत छ । सो क्षेत्रमा एमालेपछि जनमत पार्टीको मत छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्