‘माता’ को यातनाले किशोरीको मृत्यु घटनाः बाबुसहित १७ जना पक्राउ « Arthapath.com
२७ फाल्गुन २०७९, शनिबार

‘माता’ को यातनाले किशोरीको मृत्यु घटनाः बाबुसहित १७ जना पक्राउ



काठमाण्डौं । झारफुकका नाममा रुपन्देहीमा एक बिरामी किशोरीको चरम यातनाको कारण मृत्यु भएको छ । रूपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा भएको किशोरी मृत्यु प्रकरणमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कान दुखेर बिरामी परेकी सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवालीको झारफुक गर्ने बहानामा दिइएको चरम यातनापछि गत फागुन २० गते राति मृत्यु भएको थियो । माता भनिने स्थानीय २२ वर्षीया सोनिया रेश्मीले झारफुक गरेर बिरामी निको बनाउने भन्दै सीतालाई शारीरिक यातना दिएकी थिइन् । सोनियाले सीतालाई भुइँमा घोप्टो पारी लडाउने, शरीरमा बस्दै गालामा थप्पड हान्ने, टाउकोदेखि पानी खन्याइदिने, मुखमा थुक्दै खरानी खुवाउनेसम्मको चरम यातना दिएपछि उनको मृत्यु भएको थियो ।

सीतालाई सोनियाले चरम यातना दिइरहे पनि उनका आफन्तले रोक लगाउनुको सट्टा भिडिओ खिचिरहे । सोही यातनाका कारण सीताको मृत्यु भएपछि मृतकका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरी घटना गुपचुप राखेका थिए । उक्त घटना गुपचुप राख्ने प्रयत्न गरे पनि झारफुकको बहानामा चरम यातना दिइरहँदा खिचिएको भिडिओ एकाएक सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटना सार्वजनिक भएको थियो ।

भिडिओ सार्वजनिक भएपछि तत्काल अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सोमबार नै सोनियालाई पक्राउ गरेको थियो। घटना लुकाउन रातारात गरिएको दाहसंस्कारमा संलग्नहरू भने पक्राउ परेका थिएनन् । सीताको मृत्यु हुने गरी यातना दिइरहँदा हेरेर बस्ने उनका आफन्त, भिडिओ खिच्ने व्यक्ति र दाहसंस्कारमा संलग्नहरूलाई समेत पक्राउ गर्न सामाजिक सञ्जाल मार्फत प्रहरीलाई दबाव परेको थियो। त्यसपछि प्रहरीले मृतक सीताका बुवासहित घटनामा र दाहसंस्कारमा संलग्नहरू समेत गरी १७ जनालाई पक्राउ गरेको जनाएको छ। को को पक्राउ परेका हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक कुँवरका अनुसार घटनाबारे अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको हो । ‘घटना अत्यन्त संवेदनशील छ। गहिरो अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक गरेका छैनौं । माता भन्ने सोनिया र मृतकका बुवासहित १७ जना पक्राउ परेका छन्,’ प्रहरी निरीक्षक कुँवरले भने ।

सीता ज्ञवालीलाई झारफुक गर्ने बहानामा चरम यातनाले भएको मृत्युपछि हत्या अभियोगमा पक्राउ परेकी माता भनिने स्थानीय २२ वर्षीया सोनिया रेश्मी

सीताका आमालाई भने प्रहरीले पक्राउ नगरेको उनले बताए । ‘अहिले अनुसन्धान भइरहेकाले घटनामा संलग्न भएकाहरूबारे अझै अध्ययन गरिरहेका छौं । अनुसन्धान गर्दै जाँदा संलग्न देखिएका सबैलाई पक्राउ गर्छौं,’ उनले भने । सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्मा कान दुखेको बिरामीलाई झारफुक गरेर निको बनाउँछु भन्ने माता र त्यहाँ लैजाने परिवार सबै दोषी रहेको बताए ।

‘गाउँघरमा सामान्य फुकफाक गर्नुलाई सामान्य मानिएला। तर झारफुकको नाममा मृत्यु हुनेसम्मको यातना दिइनु जघन्य अपराध हो । अब यस्ता घटना दोहोरिन नदिने गरी सचेतनाका कार्यक्रम गर्नुपर्छ,’ उनले भने । नगरप्रमुख शर्माले यो घटनाले समाजको चेतनालाई प्रष्ट पारिदिएको भन्दै नगरपालिकाले अब सामाजिक सचेतनाका कार्यक्रम अगाडि सार्ने बताए ।
‘विद्यालयमा होमवर्क नलेखेको भन्दै शिक्षकले सामान्य रूपमा हाने विद्यालय बन्द गराउने अवस्था छ । यहाँ त परिवार र आफन्तहरू नै छोरीको मृत्युमा रमिते बनेर बसेको देखिन्छ,’ शर्माले भने ।


प्रतिक्रिया दिनुहोस्