राष्ट्रिय योजना आयोगको १६औं योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड « Arthapath.com
१७ श्रावण २०८०, बुधबार

राष्ट्रिय योजना आयोगको १६औं योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं। प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगको १६औं योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा १६औं योजनाको अवधारणा तर्जुमा गर्न आयोजित राष्ट्रिय योजना आयोगको बैठकलाई दिशानिर्देश गर्दै प्रधानमन्त्रीले अहिलेसम्मका योजनाहरूले देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा के(कस्तो भूमिका खेलेका छन् भन्ने कुराको गहिरो समीक्षा आवश्यक रहेको बताएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रिया परम्परागत र सीमित व्यक्तिको विवेकमा आधारित भएको बताउँदै यसमा व्यापक रूपान्तरण जरूरी रहेकोमा जोड दिए । प्रधानमन्त्रीले भने, नीति तथा कार्यक्रम र बजेट निर्माणको हाम्रो संस्थागत, संरचनागत र कार्यशैलीगत रूपान्तरण जरूरी छ। नीति तथा कार्यक्रम र बजेट निर्माणको बीचमा एकदमै छोटो समय हुने, त्यसले गर्दा नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता नहुने समस्या हामीकहाँ छ। यसलाई बदल्नुपर्छ। नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित भइसकेपछि त्यसमाथि व्यापक छलफल गरेपछि मात्रै बजेट निर्माणको काम थाल्नुपर्दछ। हतार हतारमा बजेट बनाउँदा नीति तथा कार्यक्रम एकाथरि बजेट अर्कोथरि बन्ने समस्याबाट हामी ग्रसित छौँ। त्यसैले यसलाई समेत सम्बोधन गर्नेगरि योजना बनाउनुस्।

नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा पनि व्यापक रूपान्तरण आवश्यक छ। प्रस्तावको अल्पविराम र पूर्णविराम समेत परिवर्तन नहुने भएपछि संसदमा त्यति ठूलो छलफलको के अर्थ भन्ने प्रश्न पनि उठेको छ। नीति तथा कार्यक्रम र बजेट प्रस्ताव भइसकेपछि पनि त्यसमाथि छलफल गरेर संशोधन गर्न सकिने व्यवस्था आवश्यक छ। यसमा राज्य संयन्त्रको मात्र नभएर बाहिरका बुद्धिजीवीहरू र जनप्रतिनिधिहरूको ज्ञान र विवेक प्रयोग गर्नेगरि तयारी गर्नुस् प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले आवधिक योजना निर्माणको प्रक्रियामा समेत बाहिरको सुझाव लिने व्यवस्था गर्नुुपर्ने बताए । उनले भने,राज्यले सबै प्रकारका नीति वा योजना प्रस्ताव गर्दा बाहिरको ज्ञान र विवेक उपयोग गर्नेतिर सोच्नुस्। सामूहिक विवेकको प्रयोग नगरी कुनै पनि प्रस्ताव सही र वैज्ञानिक बन्दैेन।


प्रतिक्रिया दिनुहोस्